भोजपुर । भोजपुरका किसानलाई बाँदरबाट अन्नबाली जोगाउन मुस्किल पर्न थालेको छ । बाँदरको उपद्रो बढेपछि तल्लो भेग तथा वन जङ्गल आसपासका बस्तीका किसान समस्या परेका हुन् । मकै पाक्ने समय भएकाले बाँदर खेतबारीमा पसेर अन्नबाली नष्ट पारेपछि उनीहरु हैरान भएका छन् ।
बाँदरको कारण जिल्लाका अधिकांश भू–भागका स्थानीयले समस्या भोग्दै आएका छन् । धेरै समस्या हुने ठाउँमा वैकल्पिक बाली लगाउँदासमेत दुःख दिने स्थानीयको भनाइ छ । बाँदरले बास्तिम, दलगाउँ, मानेभञ्ज्याङ, खावा, कोट, गोगने, लेखर्क, बोखिम, धोद्लेखानीलगायत ठाउँमा बढी मात्रामा दुःख दिने गरेको छ । बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका स्थानीयवासीको भनाइ छ ।
बाँदर नियन्त्रणको लागि सरकारले उचित विकल्पको खोजी गर्नुपर्ने रामप्रसादराई गाउँपालिका–४ दलगाउँका स्थानीय तीर्थबहादुर प्रधानले बताए । बाँदरको आतङ्क यसरी नै बढ्दै जाने हो भने अबको आठ÷दश वर्षमा धेरै बस्ती खाली हुने उनको भनाइ छ ।
“बाँदर नियन्त्रणमा सरकारले उचित विकल्प ल्याउन आवश्यक छ”, स्थानीयजासी प्रधानले भने, “बाँदरको समस्या धेरै नै छ । कहिले बाँदर नपुगेका ठाउँमा समेत बाँदरले अन्नबाली खाएको अवस्था छ । नियन्त्रणमा ध्यान नदिने हो भने धेरै बस्ती खाली हुने अवस्था छ ।”
बाँदरले अन्नबाली उत्पादनमा बाधा गरेपछि धेरै मानिसले आफ्नो खेतबारी बाँझो छाडेका छन् । “बाँदरको उपद्रो बढ्दो छ”, उनले भने, “एक घण्टा मात्र बालीमा पस्न पायो भने वर्षभरि खाने अन्न छिन भरमै खाइदिन्छ । बाँदर नियन्त्रण गर्न नसकेपछि खेतबारी बाँझो छाडेर किनेर खानुपर्ने अवस्था छ । गाउँबस्ती नै आतङ्कित बनेको छ ।”
रामप्रसादराई गाउँपालिका–४ दलगाउँका स्थानीय बाँदरको आतङ्क बढेपछि बस्ती छाडेर हिँडेका छन् । बाँदरले बस्तीमा पसेर अन्नबाली खान थालेपछि कतिपय स्थानीय विस्थापितसमेत भएका हुन् । बाँदरले बस्तीमा पसेर दुःख दिन थालेपछि यहाँ दशभन्दा बढी घर स्थानीयले गाउँ नै छाडेका स्थानीयवासी टेकबहादुर तामाङले बताए ।
अन्नबाली जोगाउन समस्या भएपछि बाध्य भएर बस्ती छाड्नुपर्ने अवस्था आएको उनको भनाइ छ । “बाँदरको कारण बस्ती नै खाली भएको छ”, उनले भने, “वर्षभरि खानको लागि लगाएको अन्नबाली छिन भरमा नष्ट पार्छ । बारीमा कटेरा बनाएर हेरचाह गर्दा पनि सम्भव हुँदैन ।”
दश÷बाह्र वर्षसम्म कमै मात्रामा बाँदर लाग्ने गरेको भए पनि पछिल्लो समय तल्लो भेगका मानिस अन्यत्र गएपछि गाउँभरिनै बाँदरको आतङ्क बढेको टेम्केमैयुङ–६ कोटका स्थानीय इन्द्रबहादुर राईले बताए । बाँदरको कारण गाउँबस्तीमा बस्न नसक्ने अवस्था आएको उनको भनाइ छ ।
“बाँदरले हामीलाई अतिनै समस्यामा पारेको छ”, उनले भने, “बारीमा लगाएको हिउँदेबाली सम्पूर्ण नष्ट पारेको अवस्था छ । बाँदरले लगाएको बाली नष्ट पारेपछि यस वर्ष खेतमा गहुँ छरेको हो । अन्नबाली जोगाउन अतिनै समस्या छ ।”
बाँदर मकैको थाग्रा धानको कुनिउ, बगैँचाका फलफूलमा आउन थालेपछि स्थानीय समस्यामा परेका हुन् । स्थानीयले स–साना ठहरा बनाएर अन्नबालीको हेरचाह गर्ने गरेका छन् ।
बाँदर हेरचाह गर्नको लागि परिवारका दुईदेखि तीन जनाको काम नै त्यही हुने गरेको स्थानीयको भनाइ छ । बाँदरलाई यन्त्र उपकरण पड्काएर तर्साउने गरे पनि पछिल्लो समयमा टेर्न छाडेको भोजपुर नगरपालिका–५ का स्थानीय कमला थापाले बताइन्।
“बाँदर धपाउने यन्त्र पड्काएर थर्साउँदा पहिला पहिला त भाग्थे”, उनले भनिन्, “अहिले त धपाउँदा टेर्दैनन् । भगाउन पनि गाह्रो छ । दशदेखि पन्ध्र मिनेट मात्र बालीमा पस्न पाए भने सखाप नै पार्छन् । बाँदरले हैरान बनाएको छ ।”
बाँदर आतङ्का कारण धेरै स्थानीय गाउँ छाड्न बाध्य रहेको टेम्केमैयुङ गाउँपालिका–६ कोटका वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए । यहाँका २० भन्दा बढी घर परिवार बाँदरको कारण विस्थापित भएको वडाध्यक्ष नेपालको भनाइ छ ।
“मेरो वडामा बाँदरको अत्यन्तै धेरै समस्या छ”, वडाध्यक्ष नेपालले भने, “यहाँको मुख्य समस्या नै बाँदर बनेको छ । नियन्त्रण गर्न धेरै उपाय लगाइयो । दिनानुदिन बाँदरको सङ्ख्या बढ्दो छ । बाँदरले धेरै दुःख दिएपछि स्थानीयवासीले बस्ती नै छाडेको अवस्था छ ।”
बाँदरको व्यवस्थापनको लागि राज्यले उचित खालको कार्यक्रम ल्याउनु पर्ने वडाध्यक्ष नेपालको भनाइ छ । स्थानीयस्तरबाट मात्र गरिएको कोसिसले बाँदरको व्यवस्थापन गर्न नसकिने उनले बताए । बाँदर समस्या अन्त्यको लागि राज्यले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
“धेरै किसानको मुख्य समस्या नै बाँदर बनेको अवस्था छ”, उनले भने, “स्थानीयस्तरबाट नियन्त्रण सम्भव छैन । दैनिकजसो स्थानीयको गुनासो आउँछ । बाँदरले बस्ती उजाड बनाएको अवस्था छ । उर्बर भूमि बाँझो बसेका छन् । राज्यले उचित विकल्पको खोजी गर्न आवश्यक छ ।”
प्रतिक्रिया