(Saturday , 11 May,2024)

एमाले र राप्रपा कोशीका मुख्यमन्त्रीको नियुक्तिविरुद्ध सर्वोच्च जाने

NepalNewsLine

NepalNewsLine

Image 1

२३ असार,  विराटनगर - कोशी प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति विरुद्ध सर्वोच्च जाने भएका छन् ।

नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले आज शुक्रबार नै सर्वोच्चमा जाने बताएका छन् ।

संविधानको धारा १६८  को २ अनुसार दलको समर्थनमा  मुख्यमन्त्री हुने प्रावधान भए पनि सभामुखलाई प्रयोग गरेर मुख्यमन्त्री नियुक्ति भएका कारण  यो  प्रक्रिया रोक्न माग गर्दै अदालत जाने उनले बताए ।

‘सभामुखको समर्थनमा सरकार गठन हुँदैन, त्यसकारणले यो गलत छ’, उनले भने, ‘उत्प्रेशणको आदेशबाट बदरगरी पाउ भन्दै सर्वोच्च जादैछौं ।’

बिहीबार  सत्ता गठबन्धन दलले आफ्नो नेतृत्वमा सरकार गठन गर्न प्रदेशसभाका सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर लिएर  बहुमतको सरकारमा दाबी गरेको थियो ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७  मत आवश्यक पर्छ । सभामुख बाहेक सत्तारुढ गठबन्धनमा ४६ जना मात्रै सांसद छन् ।

सभामुखलाई छुट्टै हस्ताक्षर गर्न लगाएर मुख्यमन्त्रीमा दाबी पेश गरेपछि कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री नियुक्त भए । उनले शुक्रबार बिहान सपथग्रहण गरी कार्यभार सम्हालेका छन् ।

सभामुख बाबुराम गौतमले भने आफूले राजनीतिक निकास दिनका लागि हस्ताक्षर गरेको बताएका छन् ।

 
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal