(Friday , 10 May,2024)

विवादित कर्णाली बजेट झनै विवादमा

NepalNewsLine

NepalNewsLine

Image 1

 
६ असार, सुर्खेत - कर्णाली सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटलाई लिएर यतिबेला विवाद चर्किँदै गएको छ । आइतबार अर्थमन्त्री बेदराज सिंहले पत्रकार सम्मेलन गर्दै सरकारी जागिरे व्यक्तिबाटै विचौलिया शैलीमा बजेट निर्माणमा दबाब आएको अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिपछि नै बजेटलाई लिएर विवाद चर्किएको हो ।

मन्त्री सिंह स्वयंले बजेट निर्माणमा प्रदेश योजना आयोगका कर्मचारीबाट दबाब आएको अभिव्यक्ति दिएको र सांसदले सिफारिस गरेकाभन्दा भिन्न योजना बजेटमा आएको भन्दै सत्ता पक्षकै सांसदले समेत असन्तुष्टि पोखिरहेका छन् । यो विषयमा संसदमा समेत प्रश्न उठेको छ ।
बजेट निर्माणमा दबाब दिएको भन्दै आफ्नो नाम मुछिएपछि मंगलबार पत्रकार सम्मेलन गर्दै आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले दबाब दिने कर्मचारीलाई बर्खास्त गरिएको जनाए । तर उनले ती कर्मचारीको परिचय खुलाएनन् । स्रोतका अनुसार अर्थमन्त्री बेदराज सिंहलाई बजेट निर्माणका क्रममा दबाब दिने योजना आयोगका कर्मचारी रमेश कुमार शाही हुन् । उनी आयोगको कम्प्युटर सहायक पाँचौँ तहमा कार्यरत थिए । उनी जाजरकोट जिल्लाकै रहेको स्रोतले बतायो । अर्थमन्त्री पनि जाजरकोटकै भएकाले शाहीले बजेट निर्माणका क्रममा योजना हाल्न दबाब दिएको हुन सक्ने बताइएको छ ।

आयोगका उपाध्यक्ष शाहीका अनुसार कारबाहीमा परेका दबाब दिने ती कर्मचारीले अर्थमन्त्रीको सचिवालयमा रहेका कर्मचारीलाई ‘कमिसन दिन्छु योजना हाल्दिनुस्’ भनेको र नमानेपछि धम्कीपूर्ण शब्दसमेत प्रयोग गरेका थिए ।

उपाध्यक्ष शाहीले भने, ‘रेकर्डमा अलिकति पैसाको लेनदेनको कुरा भएको छ भने योजनाको लिस्ट छ । अर्को, नभएपछि देखौँला, कतिसम्म मन्त्री हुँदो रहेछस् भन्ने म्यासेज छ । साथै योजना परेपछि तपाईँलाई प्रबन्ध गर्छौँ भन्ने कुरा रहेको छ ।’

अर्थमन्त्री शाहीले ती कर्मचारीमाथि कारबाहीका लागि आवश्यक प्रमाण आयोगमा पठाएका थिए । पत्रकार सम्मेलनमा उपाध्यक्ष शाहीले आयोगको मुख्य भूमिकामा रहेका कुनै पनि कर्मचारीले बजेट बनाउने क्रममा अर्थमन्त्रीलाई दबाब नदिएको प्रस्ट पारेका छन् । आयोगका ती कर्मचारीले दिएका अभिव्यक्ति र संवादहरु आयोगको आधिकारिक नभई निज कर्मचारीको नितान्त व्यक्तिगत सोच र धारणाको उपज मात्र भएको उपाध्यक्ष शाहीको भनाइ छ ।

तर, अर्थमन्त्री सिंहले अन्य सरकारी जागिरमा रहेका मान्छेहरुबाट पनि बजेट निर्माणका क्रममा बार्गेनिङ, धम्की आएको दाबी गरेका छन् । बजेट निर्माणमा विचौलिया हावी भएको भन्दै संसदमा समेत यो विषयमा प्रश्न उठेको छ । प्रतिपक्षमात्र नभएर सत्ता पक्षधर सांसदहरुले नै बजेट सांसदको सिफारिसभन्दा भिन्न तरिकाले आएको बताइरहेका छन् ।  

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal