१३ भाद्र, जनकपुरधाम - एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानको म्याच हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले बुधबार दिउँसो २ बजेपछि बिदा दिएको छ ।
उपमहानगरका वरिष्ठ उपसचिव मेहीलाल यादवले एक सूचना जारी गरी बुधबार दिउँसो २ बजेपछि उपमहानगरभित्रका विद्यालय बन्द गर्न निर्देशन दिएका हुन् ।
आजदेखि सुरु हुन लागेको एसिया कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपालले घरेलु टोली पाकिस्तानसँग मुल्तानमा खेल्दैछ ।
१५ औँ स्थानमा रहेको नेपालले पहिलोपटक एकदिवसीय वरीयताको शीर्ष स्थानमा रहेको टिमसँग खेल्दैछ ।
औपचारिक रूपमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि नेपाललाई पाकिस्तानसँग एकदिवसीय खेल खेल्ने अवसर जुरेको हो।
सन् २०१४ को टी-२० विश्वकप नेपालले प्रतिस्पर्धा गरेको ठुलो प्रतियोगिता हो । टी-२० विश्वकप खेले पनि नेपालले एसिया कप भने खेल्न पाएको थिएन ।
नेपालले २०२३ को एसिया कपमार्फत प्रतियोगितामा डेब्यू गर्दैछ।
प्रतिक्रिया