(Saturday , 11 May,2024)

सार्वजनिक ऋण २३ खर्ब माथि, प्रतिव्यक्ति दायित्व ७९ हजार २०१

NepalNewsLine

NepalNewsLine

Image 1

१० असोज, काठमाडौं - नेपालको सार्वजनिक ऋण २३ खर्ब माथि पुगेको छ । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो दुई महिनामा सरकारले ४९ अर्ब २३ करोड रुपैयाँ सार्वजनिक ऋण थपेको हो ।

यस अवधिमा सरकारले ३८ अर्ब ७१ करोड ऋण भने भुक्तानी गरेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार असार मसान्तसम्म नेपालको ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड २५ लाख रुपैयाँ रहेको थियो ।

यसमा साउन र भदौ महिनामा सरकारले कुल ४९ अर्ब २३ करो ३२ लाख रुपैयाँ ऋण थपेको छ । सोही अवधिमा ३८ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ ऋण भुक्तानी गरेको छ ।

नेपालको आन्तरिक ऋण ११ खर्ब ४० अर्ब ५३ करोड र बाह्य ऋण ११ खर्ब ६९ करोड ३३ करोड रुपैयाँ रहेको छ ।

भदौ मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋणको आंकडा २३ खर्ब माथि पुगेको तथ्यांकमा उल्लेख छ ।

भदौ मसान्तसम्मको सार्वजनिक ऋण प्रतिव्यक्ति दायित्वका हिसावले ७९ हजार २०१ रुपैयाँ पर्न जान्छ ।

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ मा भाग गर्दा सो रकम आएको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रवक्ता डिलाराम गिरी पहिलो दुई महिनामा आन्तरिक ऋण बढी उठेको भन्दै यसो हुनुमा आवको सुरुवाती महिनामा ब्याजदर कम भएको अवस्थालाई सरकारले उपयोग गरेको बताउँछन् ।

‘अहिले ब्याजदर कम छ, सोहीकारण यो अवस्थालाई सरकारले कम भार पर्ने समयका रुपमा आन्तरिक ऋण उठाइरहेको देखिन्छ,’ उनले भने ।

सरकारले साउन महिनामा १३ अर्ब ६ करोड र भदौ महिनामा ३१ अर्ब २० करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ ।

यस प्रकार दुई महिनाको अवधिमा ४४ अर्ब २६ करोड आन्तरिक ऋण उठाएको छ । बाह्य ऋण भने दुई महिनामा मात्र ४ अर्ब ९७ करोड रुपैयाँ मात्र प्राप्ती भएको छ ।

भुक्तानीतर्फ सरकारले साउनमा २२ अर्ब ७ करोड र भदौमा १० अर्ब ७५ करोड रुपैयाँ आन्तरिक ऋणको साँवा भुक्तानी भएको छ ।

दुई महिनामा कुल ३२ अर्ब ८३ करोड रुपैयाँ साँवा भुक्तानी भएको छ । बाह्य ऋणको भने साउनमा १ अर्ब २३ करोड र भदौमा ४ अर्ब ६४ करोड रुपैयाँ बाह्य ऋणको साँवा भुक्तानी भएको छ ।

बाह्य ऋणको साँवा भुक्तानी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । ब्याज भुक्तानीमा भने आन्तरिक ऋणतर्फ दुई महिनामा ८ अर्ब ७७ करोड र बाह्य ऋणको ब्याज भुक्तानीमा २ अर्ब २८ करोड रुपैयाँ खर्च भएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal