(Sunday , 12 May,2024)

सीमापारी गई किनमेल गर्नेको लर्को

NepalNewsLine

NepalNewsLine

Image 1

२८ भाद्र,राँझा- बाँकेको जमुनाह नाकामा सीमावर्ती भारतीय बजार रुपैडिहा जाने नेपालीको लर्को लागेको छ। नेपालगञ्ज भन्सार कार्यालयले  एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने गरी कडाइ गरे पनि घरायसी उपभोग्य वस्तु र लत्ताकपडा किन्न दैनिक हजारौँ नेपाली रुपैडिहा पुग्ने गरेका छन्।

अहिले दैनिक दश हजारभन्दा बढी नेपाली रुपैडिहा जाने गरेको जमुनाहस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मीनबहादुर विष्टले बताए। ‘शुक्रबार र शनिबार सीमामा थामिनसक्नु भीड लाग्ने गरेको छ’, उनले भने, ‘सहज आवतजावतको हरदम प्रयास गरिरहेका छौँ।’

तीजको किनमेल गर्न रुपैडिहामा नेपालीको लर्को लागेपछि यति वेला नेपालगञ्जका व्यापारी चिन्तित छन्। बाँकेका ग्रामीण क्षेत्र र बर्दिया, दाङ, सुर्खेत, दैलेख, जाजरकोट र सल्यानलगायत ठाउँका उपभोक्ता किनमेल गर्न भारत जाने गरेका छन्।

रुपैडिहामा नेपाली रुपैयाँमा कारोबार हुने गरेको छ। पसलमा काम गर्ने कामदारसमेत नेपाली हुन्छन्।

नेपाली उपभोक्ताको भरमा रुपैडिहा बजार चलेको मोफसलका पत्रकार सन्तोष शुक्लाले बताए।

तीज आउन केही दिन बाँकी रहे पनि नेपालगञ्ज बजार सुनसान छ। नेपालका बजारमा उपभोक्ताको चहलपहल छैन तर रुपैडिहामा किनमेल गर्ने नेपालीको चहलपहल बढेको छ। चाडपर्व मात्र होइन, अन्य समयमा पनि दैनिक उपभोग्य सामग्रीका लागि नेपाली उपभोक्ता रुपैडिहामै पुग्ने गरेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए।

रुपैडिहा बजार नेपाली उपभोक्ताको भरमा टिकेको छ। दैनिक करिब एक करोड रुपैयाँको कारोबार नेपाली उपभोक्ताबाटै हुने गरेको छ। नेपालगञ्जमा चाडपर्वका वेला पनि कारोबारमा कमी आएको उनको भनाइ थियो।

नेपाली उपभोक्ता किनमेल गर्न भारतीय बजार जाने पुरानै चलन भएकाले उनीहरूलाई यतै रोक्न नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको प्रत्येक निर्वाचनका वेला चुनावी नारा बनाइन्छ। ‘हामीले संघका तर्फबाट धेरै प्रयास गरेका छौँ। हाम्रो मात्रै प्रयासले केही भएन। सस्तोमा पाइने लोभमा नेपाली रुपैडिहा जाँदा नेपालगञ्जका व्यवसायी धराशायी भएका छन्।

‘हामीले वेला वेला उपभोक्ता जागरण कार्यक्रम गरेर सम्झाउँछौँ’, सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले भने, ‘भारतीय बजारमा सबै सामान सस्तो पाइन्छ भन्ने भ्रम नेपाली उपभोक्तामा छ।’ पछिल्लो एक सातायता किनमेल गर्न रुपैडिहातर्फ जाने नेपाली उपभोक्ताको भीड बढेको जमुनाहस्थित इलाका प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक माधव रिजालले बताए।

घरायसी प्रयोजनका सामान किन्न सीमावर्ती बजारतिर धाउने सीमा क्षेत्रका स्थानीयसँगै चाडपर्वका वेला टाढाटाढाबाट पनि नेपाली रुपैडिहा जाने गर्दछन्। घर रङ्गरोगनदेखि विद्युतीय सामग्री, मसला, फलफूल र लत्ताकपडा प्रायजसोले रुपैडिहाबाटै ल्याउँछन्।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal