(Saturday , 11 May,2024)

भारतले कर लगाएपछि प्याजको आयात रोकियो, बजारमा प्याजको अभाव

NepalNewsLine

NepalNewsLine

Image 1

६ भदौ, काठमाडौं  - भारतले प्याज निर्यातमा ४० प्रतिशत महसुल लगाएपछि व्यापारीले प्याज आयात रोकेका छन् ।

आयात रोकिएपछि कालिमाटीलगायतका मुख्य बजारमा प्याज अभाव भएको छ । भदौ ११ गते भारतले आफ्नो मुलुकबाट निर्यात हुने प्याजमा ४० प्रतिशत भन्सार महशुल लगाउने निर्णय गरेको थियो ।

त्यसयता शनिबार र आइतबार प्याजको छिटफुट मात्रै कारोबार भए पनि सोमबारदेखि भने आयात र बिक्री नै ठप्प भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

बजारमा भएका सबै पसलमा प्याज सकिएको बजार विकास समितिका सूचना अधिकारी बिनय श्रेष्ठले बताए । ‘बजारमा ८० वटा आलु प्याजका पसल छन्’, श्रेष्ठले भने ‘सबै पसलमा प्याज सकिएको छ । प्याज नभएपछि मूल्य तोक्ने कुरै भएन ।’

कालिमाटी र काठमाडौंलाई आधार बनाएर आलु प्याजको कारोबार गर्ने व्यापारीहरुले भने भारतले निर्यात कर लगाएपछि उतैका व्यापारीहरुले प्याजको बिक्री नगरेको दाबी गरेका छन् ।

एक्कासी आएको नीतिका कारण उनीहरु अन्यौलमा हुँदा निर्यातकहरुले प्याज नै नपठाएको आलु प्याज व्यवसायी संघका महासचिव प्रकाश गजुरेलले बताए ।

‘व्यवसायीले प्याज ल्याउन सकेको छैनन् । भएको प्याज सकियो’, महासचिव गजुरेलले भने, ‘अब आयात सहज नभई बजारमा प्याज उपलब्ध हुने अवस्था छैन ।’

आइतबार कालीमाटी बजारमा प्याजको थोक बिक्री मूल्य ६१ रुपैयाँ प्रतिकिलो थियो । आइतबार दिउँसैदेखि बजारमा प्याजको मूल्य मनपरी लिन थालिएको थियो । लगत्तै वाणिज्य विभागले अनुगमन गरेपछि बजारमा प्याजको आपूर्ति ठप्प भएको छ ।

वाणिज्य विभागले भने भारतले कर थपेपछि प्याज नआएको हुन सक्ने भए पनि पहिल्यै आयात भएको प्याज पनि लुकाइएको हुन सक्ने अनुमान गरेको छ । कालोबजारी गरेको पाइए कडा कारबाही गर्ने विभागका महानिर्देशक गजेन्द्र ठाकुरले बताए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal