(Saturday , 11 May,2024)

डीपीआर नै नबनेको नुवाकोट जोड्ने सुरुङमार्गलाई १ अर्ब बजेट

NepalNewsLine

NepalNewsLine

Image 1

२५ जेठ, काठमाडौं - आगामी आर्थिक वर्षको बजेटमा टोखा (काठमाडौं) –छहरे (नुवाकोट) सुरुङमार्ग निर्माणका लागि भन्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले एक अर्ब बजेट विनियोजन गरेका छन् । गृहजिल्ला नुवाकोट जोड्ने यो सुरुङमार्ग कस्तो डिजाइन र प्रविधिसहित बन्ने भन्ने तय नहुँदै अर्थमन्त्री महतले एक अर्ब बजेट विनियोजन गरेका हुन् ।

बजेटमा ‘विस्तृत सम्भाव्यता अध्ययन, जग्गा प्राप्ति लगायत पूर्व तयारी पूरा भई कार्यान्वयनमा जान सक्ने आयोजनालाई वार्षिक बजेट तथा कार्यक्रममा समावेश गर्ने नीति लिएको घोषणा’ गरेका अर्थमन्त्री महतले विस्तृत परियोजना प्रतिवेदन, वातावरणीय प्रभाव मूल्याङ्‍कन, जग्गा प्राप्ति लगायतका प्रक्रिया सम्पन्न भई साइट क्लियरेन्स सुनिश्चित भएका तथा खरीद योजना स्वीकृत भएका आयोजनाको मात्र ठेक्का सम्झौता गर्ने व्यवस्था मिलाइने घोषणा गरेका छन् । तर, टोखा–छहरे सुरुङमार्ग तत्काल कार्यान्वयनमा जान नसक्ने जान्दा जान्दै किन प्राथमितकाक पर्‍यो भन्ने खुलेको छैन ।

बजेटमा गरिएको घोषणाअनुसार आयोजना कार्यान्वयनका लागि कात्तिक महिनाभित्र ठेक्का व्यवस्थापन गरिसक्नु पर्ने हुन्छ । सो समयावधिमा ठेक्का प्रक्रिया अगाडि नबढेको कार्यक्रममा विनियोजित रकम रोक्का गर्ने घोषणा भएकाले यो सुरुङमार्ग पनि त्यही नीतिको ट्रयापमा पर्ने निश्चित रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

अहिलेसम्म यो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नै तयार नभएको सडक विभागले जनाएको छ । सम्भाव्यता अध्ययन सकिए पनि चीन सरकारले यसको प्रतिवेदन दिन बाँकी रहेको सडक विभागका प्रवक्ता रामहरि पोखरेलले जानकारी दिए । अहिलेसम्म यो आयोजनाको कुल लागत समेत टुंगो लागेको छैन ।

‘बजेट वक्तव्यमा घोषणा गरिएअनुसार १ अर्ब नै बजेट विनियोजन भएको हो भने त्यो सबै रकम यो वर्ष खर्च गर्न सकिंदैन,’ उनले भने, ‘आयोजनाको पूर्वतयारी नै सकिएको छैन, यो वर्ष हाम्रै स्रोतबाट अध्ययन सकाउने गरी काम गर्ने हो भने पनि ५–७ करोडको मात्रै काम हुन्छ होला ।’

यो परियोजनाको डीपीआर टुंगो लगाएर त्यसअनुसार ठेक्का प्रक्रिया पुरा गर्न नै एक वर्षभन्दा बढी लाग्ने अधिकारीहरुको दाबी छ । यो वर्ष सरकारले सुरुङमार्ग विकास कार्यक्रमका लागि १ खर्ब ९५ करोड बजेट विनियोजन गरेको छ, यही कार्यक्रमअन्तर्गत टोखा छहरेको लागि एक अर्ब रुपैयाँ मात्रै हैन, निर्माण सुरु हुन लागेको सिद्धबाबा सुरुङमार्गको काम र विभिन्न सुरुङमार्गहरुको अध्ययन गर्न पनि बजेट छुट्याइएको छ । ठेक्का लागेर निर्माणको थालनी हुन लागेको सिद्धबाबा सुरुङमार्गको बजेट थोरै राखेर अर्थमन्त्रीले किन टोखा छहरे सुरुङमार्गमा खर्च नै हुन नसक्ने पैसा राखे भन्ने स्पष्ट छैन ।

 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal