(Sunday , 12 May,2024)

एमालेका तीन केन्द्रीय सदस्यको पद खारेज

NepalNewsLine

NepalNewsLine

Image 1

१६ असोज, काठमाडौँ - नेकपा एमालेका तीन जना केन्द्रीय सदस्यको पद गुमेको छ । एमालेले यसअघि एउटा कमिटीमा रहेको सदस्य अर्को कमिटीको उम्मेदवार बने भइरहेको पद स्वतः जाने निर्णय गरेको थियो ।

सो निर्णयअनुसार हालै प्रदेशहरूमा भएका अधिवेशनमा पोलिटब्युरो र केन्द्रीय सदस्यहरूले समेत निर्वाचन लडेका थिए । यसरी केन्द्रीय सदस्य छोडेर प्रदेशका लागि चुनाव लड्ने बागमतीमा कृष्णप्रसाद दाहाल र कैलाश ढुङ्गेल रहेका थिए ।

ढुङ्गेलले निर्वाचन जितेकाले उनले पोलिटब्युरो सरहको मान्यता पाए पनि दाहालको केन्द्रीय सदस्य पद गुमेको छ ।

त्यसैगरी कोशी प्रदेश कमिटीको अध्यक्ष पदमा उम्मेदवार बनेका केन्द्रीय सदस्य विनोद ढकालको पनि पद गुमेको छ । ढकाल अर्का नेता घनश्याम खतिवडासँगको चुनावी प्रतिस्पर्धामा पराजित बनेका थिए ।

तल्लो कमिटीमा झरेर चुनाव लडेकै कारण लुम्बिनीका हरि रिजालको पनि केन्द्रीय सदस्य पद गुमेको छ । राधाकृष्ण कँडेलसँग प्रदेश अध्यक्षका लागि प्रतिस्पर्धामा उत्रिएका रिजाल कँडेलले अध्यक्षमा जितेपछि उनको केन्द्रीय सदस्य पद गुम्न पुगेको हो ।

एमाले पोलिटब्युरो सदस्य आनन्द पोखरेलले विधान अनुसार प्रतिनिधि छानिँदा नै भइरहेको पद जाने भए पनि पछिल्लो केन्द्रीय कमिटी बैठकले प्रतिनिधि बन्नलाई छुट दिएको बताए । तर उनले प्रदेशमा चुनाव लडेपछि भइरहेको  पद स्वतः खारेज हुने व्यवस्था कायमै रहेको बताए ।

‘अहिले केन्द्रीय सदस्यहरू जो जो प्रदेशको उम्मेदवार हुनुभएको छ उहाँहरूको केन्द्रीय सदस्य पद स्वतः गएको छ’, नेता पोखरेलको भनाइ छ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal