(Sunday , 12 May,2024)

११ किलो सुन तस्करीमा दोलखा बाट १ जना पक्राउ

NepalNewsLine

NepalNewsLine

Image 1

१५ असोज, काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको तस्करीको सुन बरामद हुन थालेपछि गिरोहले स्थलमार्ग प्रयोग गर्न थालेको पाइएको छ ।

गिरोहले खासै प्रयोगमा नआएको दोलखास्थित चीनसँगको फलेक नाकाबाट सुन ल्याउने गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय, दोलखाले गरेको अनुसन्धानबाट देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय, दोलखाका डीएसपी दीपक खड्काका अनुसार, पाँच दिनको अवधिमा बिगु गाउँपालिका–१ लामाबगर क्षेत्रबाट ११ किलो सुन बरामद भएको छ ।

इलाका प्रहरी कार्यालय, सिंगटीबाट प्रहरी निरीक्षक विक्रम लामाको नेतृत्वमा खटिएको टोलीले गएको बुधबार ४ किलो सुनसहित लामाबगरका केशर तामाङलाई पक्राउ गरेको थियो ।

उनको बयानका आधारमा यसमा पेम्बा तामाङ र नुर्वुछिरिङ शेर्पा पक्राउ परेका थिए । शेर्पा नेपालमा तस्करीको सुन व्यवस्थापन गर्ने मुख्य व्यक्ति भएको अनुुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

भरिया तामाङ सत्तारुढ नेपाली कांग्रेसको युवा संगठन तरुण दलसँग आबद्ध व्यक्तिसमेत हुन् । उनकै बयानका आधारमा प्रहरीले बिहीबार जामुनेस्थित सीता तामाङको घरबाट थप ३ किलो सुन बरामद गरेको थियो ।

अनुसन्धानका क्रममा प्रहरीले थप ४ किलो सुन यही गिरोहसँग रहेको थाहा पाएको थियो ।

त्यसक्रममा लामाबगरमा ढुंगामुनि लुकाएर राखेको अवस्थामा फेला परेको सुनसमेत गरेर कुल ११ किलो सुन प्रहरीले बरामद गरेको हो ।

चीनको हङकङबाट ब्रेक शुभित्र लुकाएर ल्याइएको ६० किलो सुन प्रकरणमा अनुसन्धान सकेर फाइल बुझाएलगत्तै उत्तरी नाकाबाट फेरि सुन बरामद भएपछि यसमा सीआईबीले पनि चासो देखाएको थियो ।

‘तीन किलो सुन बरामद भएलगत्तै सीआईबीको टोली पनि यसको अनुसन्धानमा खटिएको छ’, सीआईबीकी निर्देशक किरण बज्राचार्य भन्छिन्, ‘प्राविधिक पक्षको विश्लेषण र बजारसम्म सुन पठाउनेसम्मका विषयमा टोलीले अनुसन्धान गरिरहेको छ ।’

बज्राचार्यका अनुसार, हवाइमार्गबाट आएको सुन र दोलखामा बरामद ११ किलो सुन दुवै एउटै कम्पनीको उत्पादन भएको देखिएको छ । त्यहीकारण प्रहरीले यो प्रकरण ६० किलो सुनसँग पनि जोडिन्छ कि भन्ने आधारमा हेरेको उनी बताउँछिन् ।

‘तर हालसम्म ठ्याक्कै जोडिने अरु कडी भेटिएको छैन, लगानीकर्ता पनि तिब्बती मूलका चिनियाँ नागरिक भएको देखिन्छ’, एआईजी बज्राचार्य भन्छिन्, ‘व्यवस्थापनमा नेपाली नागरिकहरु संलग्न देखिन्छन् ।’

 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal