(Saturday , 11 May,2024)

आरजुलाई २ करोड दिएको अडियो बनाउने कांग्रेस नेता गुरुङ पार्टीबाट निष्कासित

NepalNewsLine

NepalNewsLine

Image 1

१४ असोज, काठमाडौँ - नेपाली कांग्रेसले फिदिम नगरपालिका सभापति प्रकाश गुरुङलाई कारबाही गरेको छ । कांग्रेसको अनुशासन समितिले गुरुङलाई तीन वर्षसम्मका लागि पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।

अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले विज्ञप्ति जारी गर्दै गुरुङलाई पार्टीबाट निष्कासित गरेको जनकारी गराएका छन् । 

गुरुङले जिल्ला सहसचिव सन्तोष श्रेष्ठसँग २०७४ सालको स्थानीय तह निर्वाचन पूर्व गरेको टेलिफोन संवाद गत असार १३ गते बाहिरिएपछि कांग्रेसको जिल्ला कार्यसमिति बैठकले दुवै जनालाई स्पष्टीकरण मागेको थियो ।

अडियो संवादमा फिदिम नगरपालिकामा मेयर पदको टिकट लिन पार्टी सभापति शेरबहादुर देउवापत्नी आरजु राणासँग २ करोड लेनदेन भएको आशय प्रकट गरिएको थियो ।

स्थानीय तह निर्वाचनमा गुरुङ स्वयम् मेयरका आकाङ्क्षी रहेकाले टिकट नपाएपछि पूर्वाग्रही भएर बदनियत पूर्वक अडियो–भिडियो रेकर्ड गरेर सार्वजनिक गरेको गुरुङमाथि आरोप थियो ।

पार्टी नेतृत्व (आरजु देउवा) को बदनाम हुने गरी सार्वजनिक गरिएको अडियो प्रकरणमा गुरुङले चित्तबुझ्दो जवाफ नदिएको भन्दै जिल्ला कार्यसमितिले केन्द्रीय अनुशासन आयोगमा गरेको सिफारिस गरेको थियो ।

उक्त सिफारिसमाथि केन्द्रीय अनुशासन समितिले थप प्रष्टीकरण लिएको थियो । गत असार १४ मा कांग्रेस केन्द्रीय कार्यालयको इमेलमार्फत गुरुङले पठाएको स्पष्टीकरण तथ्यमा आधारित नरहेको अनुशासन समितिको निष्कर्ष थियो ।

अडियो–भिडियो रेकर्ड गरिएको विषयमा गुरुङले स्वीकार समेत गरेकोले केन्द्रीय अनुशासन समितिमा प्राप्त सबुत प्रमाणका आधारमा प्रकाश गुरुङले पार्टीको अनुशासन उल्लङ्घन गरेको ठहर थियो ।

असोज ३,मा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले गुरुङ तीन वर्षको लागि पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय भएको ढुङ्गानाले बताए । 

अडियो प्रकरणमा स्पष्टीकरण मागिएका जिल्ला सहसचिव सन्तोष श्रेष्ठले भने आत्मालोचनासहित पुनः गल्ती नदोहर्‍याउने प्रतिबद्धता गरेपछि उनीमाथि कारबाही भएन ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal