(Saturday , 11 May,2024)

अमेरिका जानुअघि राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री दाहाल शीतल निवास पुगे 

NepalNewsLine

NepalNewsLine

Image 1

३० भाद्र, काठमाडौँ - अमेरिकाहुँदै चीन भ्रमणमा जानुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । राष्ट्रपतिलाई भेट्न बिहान उनी शीतल निवास पुगेका हुन् । 

भेटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणबारेमा जानकारी गराएका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ ।

प्रधानमन्त्री दाहाल आज साँझ अमेरिका जाँदैछन् । संयुक्त राष्ट्र सङ्घीय महासभामाको ७८औँ सत्रमा सहभागी हुन उनी न्युयोर्क जान लागेका हुन् । 

प्रधानमन्त्री दाहालको भ्रमण टोलीमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव भरतराज पौड्याल, संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापालगायत छन् ।

परराष्ट्रमन्त्री साउदसहितका केही प्रतिनिधि यसअघि नै न्युयोर्क पुगिसकेका छन् । 

१९ सेप्टेम्बर (२ असोज) मा न्युयोर्कमा राष्ट्रसंघको महासभा सुरु हुँदैछ । २१ सेप्टेम्बर (४ असोज) मा प्रचण्डले महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया गुटेरेसलगायत उच्च अधिकारीसँग भेटवार्ता पनि गर्नेछन् ।  

महासभामा मन्तव्य दिएको भोलिपल्ट ५ असोज (२२ सेप्टेम्बर) मा दिन उनी चीन प्रस्थान गर्नेछन् ।

चीनमा उनले त्यहाँका राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली खच्याङलगायतसँग भेटवार्ता गर्ने बताइएको छ । प्रधानमन्त्री दाहाल ८ असोजमा स्वदेश फर्किने कार्यक्रम छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal