(Thursday , 21 November,2024)

 प्रतिनिधिसभामा सुवास नेम्वाङको निधनप्रतिको शोक प्रस्ताव पारित  

NepalNewsLine

NepalNewsLine

Image 1

२८ भाद्र, काठमाडौं - प्रतिनिधिसभा बैठकले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख, प्रतिनिधिसभा सदस्य तथा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

बिहीबार बसेको बैठकमा सभामुख देवराज घिमिरेद्वारा प्रस्तुत शोक प्रस्ताव सर्वसम्मतिले पारित गरिएको हो । शोक प्रस्ताव प्रस्तुत गर्दै सभामुख घिमिरेले नेम्वाङको निधनले मुलुकलाई क्षति पुगेको बताए ।

बैठकले नेम्वाङको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक-सन्तप्त परिवारजनप्रति गहिरो समवेदनासहित एक मिनेट मौनधारण समेत गरिएको छ ।

नेम्वाङ नेकपा (एमाले) पार्टीको तर्फबाट २०४८ साल र २०५२ सालमा राष्ट्रियसभा सदस्य, २०५६ सालमा प्रतिनिधिसभा सदस्य, २०६३ सालमा पुनःस्थापित प्रतिनिधिसभा सदस्य र व्यवस्थापिका संसद् सदस्य, २०७२ मा रुपान्तरित व्यवस्थापिका संसद् सदस्य, २०७४ र २०७९ मा प्रतिनिधिसभा सदस्य थिए ।

उनी विसं २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाको सभामुख, २०६३ सालमै व्यवस्थापिका संसद्को सभामुख तथा २०६५ साल र २०७० सालको संविधान सभाको अध्यक्ष हुनुहुन्थ्यो ।

यसैगरी, २०५६ मा प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखासमिति सभापति भएका नेम्वाङ कानून, न्याय तथा संसदीय व्यवस्था र सामान्य प्रशासन मन्त्रीसमेत भए ।

संविधानसभामार्फत् नेपालको संविधान निर्माणमा उनको अग्रणी भूमिका रहेको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक भाद्र २९ गते शुक्रबार १ बजे बोलाइएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal