(Saturday , 11 May,2024)

 ‘ईः’ को स्वास्थ्य अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण

NepalNewsLine

NepalNewsLine

Image 1

१० असोज, काठमाडौँ - साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न माग गर्दै काठमाडौँ महानगरपालिकाको कार्यालय, राष्ट्रिय सभागृह अगाडि उभिएर धर्नामा रहेका अभियन्त ‘ईः’ को स्वास्थ्य अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगका सदस्य लिली थापा नेतृत्वको उच्चस्तरीय टोलीले मंगलबार स्थलगत अनुगमन गरेपछि बुधबार आयोगले विज्ञप्ति जारी गर्दै अभियन्ता ‘ईः’ को स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न र वार्तामार्फत यथाधीघ्र समस्याको निकास निकाल्न सुझाव दिएको हो ।

‘रातिको १२ बजेदेखि ५ बजेसम्म कुर्चीमा बस्ने र बाँकी समय लौरो टेकेर उभिने गरेको, विगत ८ दिनदेखि उभिएर धर्ना गरिरहेका ईः का दुवै खुट्टा अस्वाभाविक रुपमा सुन्निएको, नाक र घाँटीको छाला खुइलिएको तथा रातो डाम परेको, सुन्निएको कम गर्नका लागि चिकित्सकको सल्लाहबमोजिम असोज ८ गतेदेखि औषधि सेवन गरिरहेको लगायतका जानकारीहरु अनुगमनबाट पाइएको छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आयोगका अनुसार अभियन्ता ‘ईः’ ले उठाएको साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने माग मानव अधिकार उपभोगसँग प्रत्यक्ष सरोकार राख्ने विषय हो ।

‘अतः धर्नामा रहेका व्यक्ति ‘ईः’को स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई निजको जीवन रक्षाका लागि पहल गर्न, वास्तविक पीडित र साना सडक व्यवसायीहरुको पहिचान गरी उनीहरुलाई पेसा र रोजगारीको वैकल्पिक व्यवस्था गर्न आयोग नेपाल सरकार र काठमाडौँ महानगरपालिको ध्यानाकर्षण गराउँदछ,’ आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

आयोगले आफ्नो स्वास्थ्य र जीवन नै जोखिममा पारी कठिन प्रदर्शन नगर्न र प्रदर्शनका अन्य विकल्प खोज्न पनि सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal