(Sunday , 12 May,2024)

६० किलो सुन तस्करी प्रकरण : दावाका सहयोगी भारतबाट पक्राउ

NepalNewsLine

NepalNewsLine

Image 1

१३ भाद्र,काठमाडौँ - हङकङबाट काठमाडौँमा तस्करी भएको ६० किलो ७१६ ग्राम सुन प्रकरणमा प्रहरीले थप एक जनालाई भारतबाट पक्राउ गरेको छ । सुन तस्करीमा संलग्न दावा छिरिङका सहयोगी भनिएका किशोर बस्नेत भारतको नयाँ दिल्लीबाट पक्राउ परेका हुन् । 

उनलाई बुधबार काठमाडौँ ल्याइएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एक अनुसन्धान अधिकृतले जानकारी दिए । बस्नेत सिन्धुपाल्चोकका स्थायी बसिन्दा हुन् भने दावाले भनेअनुसार उनले सामान खरिद गरेर सुन लुकाएर तस्करीमा सहयोग गर्ने गरेका थिए । 

आजै पाल्पा घर भएका गणेश पौडेल पनि पक्राउ परेका थिए ।  हङकङबाट ‘रेडी ट्रेड प्रालि’को नाममा तस्करी गरेर ल्याएको सुन त्रिभुवन विमानस्थल भन्सार गेट बाहिरबाट राजस्व अनुसन्धान विभागले साउन ३ मा बरामद गरेको थियो । सो सुन मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर काठमाडौँ ल्याइएको हो ।

सुन प्रकरणमा  पक्राउ पर्नेको सङ्ख्या २५ पुगेको छ । तस्करीमा चिनियाँहरूको मुख्य भूमिका देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । सुन प्रकरणमा अहिलेसम्म पक्राउ पर्नेहरूमा राम कुमार भुजेल, दिलीप भुजेल, हर्कराज राई, थाप्तेन छिरिङ, राजेन्द्र राई, अशोक लामा, जीक्वाङ लिन, राजन श्रेष्ठ, पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, यादव पराजुली, सुदर्शन गौतम, सन्तोष चन्द, कुमार ढकाल, सरोज श्रेष्ठ, सुरेन्द्र तामाङ, दावा छिरिङ, टीयान मि, वेन तोङ, डीङ सेग्फा, ली–नेङकाई, याओ पुचेङ्ग, ली वेन सुङ्ग र गणेश पौडेल छन् ।

बरामद सुन संगठित तरिकाले तस्करी भएको भन्दै राजस्व अनुसन्धान विभागले अनुसन्धानको जिम्मेवारी साउन २१ मा सीआईबीलाई हस्तान्तरण गरेको थियो । ब्यूरोले अनुसन्धान सुरु गरेपछि चिनियाँ नागरिक बस्ने डेरा र गोदाम सहित १० ठाउँमा छापा मारिएको अनुसन्धान संलग्न एकजना अधिकृतले बताए ।

सुन तस्करीबारे अनुसन्धान गर्न प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरिएको छ । बज्राचार्य सीआईबीकी निर्देशक हुन् ।

केन्द्रीय अनुसन्धान ब्यूरोले एसपी सञ्जयसिंह थापाको कमाण्डमा टिम बनाएर साउन २२ देखी अनुसन्धान सुरु गरेको थियो । अनुसन्धान टोलीलाई अनुगमन र सहजीकरण गर्न उच्चस्तरीय समिति गठन गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए ।

समितिमा विशेष ब्यूरोका डीआईजी रामदत्त जोशी र एसपी कृष्ण कोइराला सदस्य छन् । धनकुटामा कार्यरत प्रहरी उपरीक्षक कोइरालालाई संगठित अपराध अनुसन्धानमा जानकारको रूपमा  अनुसन्धान गर्न बोलाइएको हो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal