(Saturday , 11 May,2024)

वीर अस्पतालमा सञ्चालित लतबाट बाहिर निकाल्ने ‘निकोटिन रिप्लेसमेन्ट थेरापी’ बन्द !

NepalNewsLine

NepalNewsLine

Image 1

८ भाद्र, काठमाडौँ - वीर अस्पतालमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको लतबाट बाहिर निकाल्न सुरु गरिएको ‘निकोटिन रिप्लेसमेन्ट थेरापी’ बन्द भएको छ ।

जेठ १७ गतेबाट सुरु भएको उक्त थेरापी करिब तीन महिनामा बन्द भएको हो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले २५ हजार ‘निकोटिन रिप्लेसमेन्ट थेरापी’ का लागि उपलब्ध गराएको चुइङ्गम सकिएपछि बन्द हो ।

अस्पतालका निर्देशक डा। सन्तोष पौडेलले औषधि व्यवस्था विभागले नै नेपालमा निकोटिन चुइङ्गम खरिदका लागि अनुमति नलिएकाले खरिद गर्न समस्या भएको बताए । 

औषधि व्यवस्था विभागलाई निकोटिन चुइङ्गम प्राप्तिका लागि अस्पतालले पत्र पठाएको  निर्देशक डा। पौडेलले बताए ।

उनले भने, ‘डीडीएबाट एप्रुभल आयो भने अस्पतालले चुइङ्गम खरिद गरी ‘निकोटिन रिप्लेसमेन्ट थेरापी’ सञ्चालन गर्छौँ ।’

विश्व स्वास्थ्य सङ्गठनले थप चुइङ्गम नदिएकोले कार्यक्रम नै रोकिएको हो । अस्पतालले निकोटिन चुइङ्गम खरिदका लागि बजेट छुट्याए पनि प्राप्तिका लागि अनुमति नहुँदा समस्या भएको उनले बताए ।

करिब तीन महिना अवधिभर यस कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भएको उनको जिकिर छ । धेरै जनाले धूम्रपान तथा सुर्तीजन्य पदार्थको लतबाट छुटकारा पाएको उनको भनाइ छ ।  

राष्ट्रिय सूचना तथा शिक्षा स्वास्थ्यले डब्ल्यूएचओसँग समन्वय गरी वीर अस्पतालमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत छुटाउने कार्यक्रम स्थापना गरिएको थियो ।  

वीर अस्पतालले डब्ल्यूएचओलाई निकोटिन चुइङगम खरिदका लागि पत्र पठाएको निर्देशक डा। पौडेलले बताए ।

यसको स्वादबारे उनले भने, ‘निकोटिन रिप्लेसमेन्ट थेरापी’को क्रममा केही व्यक्तिले चुइङ्गमको स्वाद मन नपराएर वाकवाक आउने, बान्ता आउला जस्तो भयो भने ।

त्यसैले, पुनः थेरापीका लागि आउने धेरै कम मानिस थिए ।’

के हो ‘निकोटिन रिप्लेसमेन्ट थेरापी’ ?

चुरोट, खैनी, सुर्ती, गुट्खा लगायतका धूम्रपान तथा सुर्तीजन्य पदार्थ छाड्न दृढ इच्छाशक्ति भएका निकोटिन थेरापीमार्फत् मुक्त हुन सक्ने यस कार्यक्रमले प्रमाणित गरेको निर्देशक डा. पौडेलले बताए ।

उनका अनुसार जेठ १७ गतेबाट वीर अस्पतालमा सुरु भएको थेरापी सेवा लिन युवादेखि वृद्धावृद्ध अर्थात् १६ देखि ७५ वर्षसम्मका सुर्तीजन्य पदार्थका अम्मली पुग्ने गरेका छन् । 

धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत छुटाउन निकोटिन भएको चुइङ्गम दिइन्छ । धूम्रपान तथा सुर्तीजन्य पदार्थ कति मात्रा सेवन गर्छन्, सोहीअनुसार निकोटिन चुइङ्गम दिइने उनले बताए । 

चुरोट, खैनी, सुर्ती, गुट्खामा लत लगाउने निकोटिन हुन्छ, यसलाई हटाउन चुइङ्गम दिइन्छ । लत छुटाउन प्रयोग गरिने निकोटिन चुइङ्गमले सामान्य असर गरेपनि क्यान्सर जस्ता दीर्घकालीन रोगहरूबाट बचिने उनको भनाइ छ । 

‘निकोटिन रिप्लेसमेन्ट थेरापी’ मा निकोटिन भएको गम, ट्याब्लेट   चुइङ्गम लगायत सेवन गरिन्छ । सुर्तीजन्य पदार्थ सेवन गर्न तलतल हुनेहरूलाई ‘निकोटिन रिप्लेसमेन्ट थेरापी’ ले काम गर्ने उनले बताए ।  

धूम्रपान तथा सुर्तीजन्य पदार्थमा हुने निकोटिन कडा नसा भएकाले सेवन गर्न लत बसिसकेकाहरूले हत्तपत्त छोड्न नसक्ने चिकित्सकहरू बताउँछन् ।

डब्लूएचओका अनुसार धूम्रपान तथा सुर्तीजन्य पदार्थको अम्मलीमध्ये जम्मा ४ प्रतिशतले मात्रै छोड्न सफल हुने गरेको पाइएको छ । 

विगतमा वीर अस्पतालमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत बसेकाहरूलाई दुई वा चार ग्रामको निकोटिन भएको चुइङ्गम दिइने गरिन्थ्यो ।

यस्तै, दिनमा १२ खिल्ली चुरोट सेवन वा २० पटकसम्म खैनी, सुर्ती, गुट्खा खानेलाई चार मिलिग्रामको निकोटिन युक्त चुइङ्गम दिइन्थ्यो । 

धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई परामर्श गरी बढीमा दिनमा ९ वटासम्म निकोटिनयुक्त चुइङ्गम दिएको थियो ।

यस्तै, एक साताका लागि ६५ वटा निकोटिन भएको चुइङ्गम दिएको अस्पतालले जनाएको छ । 

नेपालमा हरेक वर्ष सुर्तीजन्य पदार्थ सेवनका कारण २७ हजारको मृत्यु हुने गर्छ ।

स्वास्थ्य अनुसन्धान परिषद्को नसर्ने रोगसम्बन्धी सर्वेक्षणमा २९ प्रतिशत वयस्कले धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन सेवन गर्ने गरेको उल्लेख छ । 

डब्लूएचओका अनुसार विश्वमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनका कारण हरेक वर्ष ८० लाखको मृत्यु भएको पाइएको छ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal