(Saturday , 11 May,2024)

टीकापुर घटनाको ८ वर्ष : रेशमदम्पतीले बालक टेकबहादुरको सालिकमा ताम्रपत्र राख्दै गरे सद्भावको आह्वान

NepalNewsLine

NepalNewsLine

Image 1

७ भाद्र, कैलाली - टीकापुर घटनाको ८ वर्षपछि आज खडगबहादुर सिंहको सालिकमा ताम्रपत्र राख्दै र माल्यार्पण गर्दै रेशम चौधरीदम्पतीले टीकापुरमा सद्भाव बढाउनुपर्ने बताएका छन् ।

‘टीकापुरमा फेरि सद्भाव जोडिनु पर्छ । टीकापुर फुटेको छैन जुटेको छ । हाम्रो सद्भावलाई बाहिरको मान्छे आएर खलबलाइदिने प्रयास नगरिदिनुहोस्’, उनले भने, ‘हामी चाहन्छौ हाम्रो शान्ति र समृद्धिको यात्रामा सम्पूर्ण टीकापुरबासी एक हुने छौँ । ’

२०६६ सालमा चौधरीले खड्गबहादुर सिंहको सालिक बनाएका थिए । त्यसबेला लगाइएको ताम्रपत्र टीकापुर घटनाका क्रममा फोडिएको थियो । सिंह टीकापुर नगरको परिकल्पनाकार मानिन्छन् ।

आजै नागरिक उन्मुक्ति केन्द्रीय अध्यक्ष तथा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता चौधरीले आठ वर्षपहिलो टीकापुर घटनामा मारिएका अढाई वर्षीय बालक टेकबहादुर साउदको सालिक अनावरण गरिन् ।

साथमा रेशम, नाउपाका मन्त्री तथा सांसद र मृतक बालकका आफन्त थिए ।

टीकापुर घटनामा संलग्न रहेको भन्दै अदालतले फैसला गरेका केही व्यक्ति अझै पनि कारागारमा छन् । जेठ १५ गते गणतन्त्र दिवसमा अवसरमा रेशम रिहा भएपनि उनीहरु रिहा भएका छैनन् ।

रेशम चौधरीले असोज ३ गते उनीहरू रिहा हुने र राज्यले रिहा गर्नेमा विश्वास व्यक्त गरेका थिए ।

‘केही राजबन्दी परिवार अझै पनि जेलमै हुनुहुन्छ । हामीले अपेक्षा गरेका छौं अबको असोज ३ गते संविधान दिवसको दिनमा राज्यले उहाँहरूलाई पनि रिहाइ गरिदिनुहुने छ ’ उनले भने ।

के हो टीकापुर घटना ?
२०७२ असोज ३ गते तत्कालीन राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ मा हस्ताक्षर गर्दै संविधान जारी भएको घोषणा गरेको थिए । त्यही संविधानमा आफूहरूको अधिकार सुनिश्चित गर्न भन्दै आन्दोलनमा रहेको यहाँका थारु समुदायहरू भने आठ वर्ष पहिले आजको दिन कहिल्यै भुल्न सक्दैनन् ।

यहाँ कैलाली कञ्चनपुरलाई तराईका केही जिल्लामा जोडेर थारुवान्रथारुहट राज्यको माग भइरहेको थियो । यता सुदूरपश्चिम विकास क्षेत्रमा रहेका सबै जिल्लालाई अखण्ड राखेर ‘अखण्ड सुदूरपश्चिम’ को आवाज पनि उठिरहेको थियो । थारु समुदायले कैलालीको टीकापुरस्थित सरकारी कार्यालयमा थारुवान् प्रदेशको बोर्ड टाँस्न खोजेका थिए ।

त्यही क्रममा बोर्ड टाँस्न खोज्ने र रोक्नेबीच तनाव चुलियो । त्यसपछि २०७२ साल भदौ ७ गते आन्दोलन हिंसामा परिणत भयो । सरकारी कार्यालयमा थारुवानको बोर्ड टाँस्न थारु समुदायका आन्दोलनकारीहरू टीकापुर पस्न खोजेको जानकारीका आधारमा सेती अञ्चल प्रहरी कार्यालयका तत्कालीन एसएसपी लक्ष्मण न्यौपानेसहितको टोली सुरक्षाका लागि तैनाथ भएको थियो ।

तर सशस्त्र प्रहरीसँगको समन्वय अभावमा आन्दोलनकारीको भिडलाई प्रहरीले रोक्न सकेन । प्रहरीले रोक्न नसकेपछि उत्तेजित भिडले प्रहरीमाथि आक्रमण गरेको थियो । आक्रोशित आन्दोलनकारीले प्रहरीको टोलीमाथि तरबार, भाला र अन्य घरेलु हतियारले आक्रमण गरेका थिए ।

त्यही क्रममा एसएसपी न्यौपानेसहित आठजना र एक दूधे बालकको आन्दोलनकारीले हत्या गरे । घटनाको भोलिपल्ट कर्फ्यू लागेकै बेला थारु समुदायका घरहरू खोजीखोजी आगो लगाइएको थियो ।
टीकापुरमा भएको घटनाको आज आठ वर्ष पुगेको छ । घटनापछि बिग्रिएको यहाँको सामाजिक सद्भाव बिस्तारै लयमा आइरहेको छ ।

घटनाको स्मरण गर्ने दिन
टीकापुरमा प्रत्येक वर्ष भदौ ७ गते थारु समुदायले घटनालाई स्मरण गर्ने गर्छन् । विगतको निरन्तरता दिँदै आज पनि कैलालीको टीकापुरमा थारु कल्याणकारिणी सभा र थरुहट-थारुवान् राष्ट्रिय मोर्चा र नागरिक उन्मुक्ति पार्टीले टीकापुरमा भिन्दा भिन्दै कार्यक्रम गरिरहेका छन् ।

उनीहरूले थारु भूगोलसहितको थरुहट प्रदेशको माग र टीकापुर घटनाका राजबन्दीको रिहाइको माग गर्दै आइरहेका छन् ।

फरक फरक दलमा रहेका थारु नेताहरूले टीकापुर घटना अधिकारको आन्दोलनमा क्रममा भएको बताउँदै आइरहेका छन् ।

त्यस्तै, सरकारले टीकापुर घटनापछि तराई-मधेशमा भएका हिंसात्मक आन्दोलनको सत्य तथ्य पत्ता लगाउन सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा आयोग गठन गरेको थियो । सो आयोगले १४ महिनापछि २०७४ मंसिर २९ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो । तर, सरकारले हालसम्म प्रतिवेदन गोप्य राखेको छ । सो आयोगको प्रतिवेदन सार्वजनिक नगरेर राज्यले अन्याय गरेको आन्दोलनकारीहरूको भनाइ छ ।

को-को छन् कानुनी दायरामा ?
टीकापुर घटनामा २८ जनामाथि मुद्दा चलाइएको छ । जसमध्ये ३१ जना अझै फरार सूचीमा छन् ।

घटनापछि २७ जनालाई पक्राउ गरियो । पक्राउ पर्नेमध्ये जिल्ला अदालत कैलालीबाट विश्राम कुश्मी, रामनरेश चौधरी, नुरुल जागाले सफाइ पाएका थिए । उच्च अदालत दिपायलबाट विश्राम चौधरीले सफाइ पाए भने सर्वोच्च अदालतबाट सीताराम चौधरी र गंगाराम चौधरीले सफाइ पाए ।

त्यस्तै जिल्ला अदालतबाट ३ वर्ष कैद भुक्तान गरी चुन्नीराम चौधरी, रामकुमार कठरिया, लक्ष्मण थारु, लाहुराम चौधरी जेल मुक्त भएका थिए । थारु कल्याणकारिणी सभा कैलालीका सभापति समेत रहेका लाहुराम चौधरीको मोटरसाइकल दुर्घटनामा मृत्यु भइसकेको छ ।

सोही मुद्दामा राजेश चौधरी, बृजमोहन चौधरी, सुन्दर कठरिया, राजकुमार कठरिया, रामप्रसाद चौधरी, प्रेमबहादुर चौधरी, सन्तराम चौधरी, किसनलाल चौधरीलाई ५ वर्ष कैद फैसला भयो ।

यस्तै, संगम भन्ने सन्तोष चौधरी, दिलबहादुर चौधरी, जीतबहादुर चौधरीलाई १० वर्ष कैद सजाय भयो । रेशम चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी, हरिनारायण चौधरी, श्रवण चौधरी र करन चौधरीलाई जनही २०/२० वर्ष कैद सजाय भएको थियो । हाल रेशम चौधरी राष्ट्रपतिमार्फत कैद माफी पाइ जेलमुक्त भए पनि सोही कसुरमा उस्तै सजाय पाएका अन्य भने जेलमै छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal