(Sunday , 12 May,2024)

 झिकियो ओलीले अनावरण गरेको धरहराको शिलालेख 

NepalNewsLine

NepalNewsLine

Image 1

२८ जेठ, काठमाडौं - पुनर्निर्मित धरहरा काम सकिएर उद्घाटन भयो कि नसकिंदै रु यसबारेको विवादमा सधैँ पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले टावरतर्फको काम सकेपछि उद्घाटन गरेको र अन्य काम मात्रै बाँकी रहेको बताउँदै आएका छन् ।

तर,  उनले अनावरण गरेको धरहराकै टावरमा टाँसिएको शिलालेख काम नसकिएको भन्दै हालै निर्माण कम्पनीले नै झिकेर स्टोरमा थन्काएको छ ।

निर्माण नसकिंदै उद्घाटन भएको धरहराको बाँकी काम समस्या परेको भन्दै निर्माण कम्पनीले नै उक्त शिलालेख हटाएको हो । ११ वैशाख, २०७८ मा तत्कालीन प्रधानमन्त्री ओलीले अपुरो आयोजनामा आफ्नो नाम लेखाउनकै लागि धरहराको पुनर्निर्माणको शिलालेख अनावरण गरेका थिए ।

ठेकेदार कम्पनी रमण कन्स्ट्रक्सनका धरहरा पुनर्निर्माण परियोजनाका व्यवस्थापक रमेश पौडेलका अनुसार हतार–हतार उद्घाटनको तयारी गर्दा शिलालेख राखिएको स्थानमा निर्माणका काम बाँकी नै थिए ।

‘त्यो शिलालेख अस्थायी रुपमा राखिएको थियो, टावर र भर्‍याङको एक्सपान्सन जोइनको बीचमा अन्तर थियो, त्यो ग्यापमा भरेर वाटरप्रुफ बनाउनुअघि नै त्यो शिलालेख त्यहीमाथि टाँस्नुपरेको थियो,’ पौडेलले भने,‘अहिले फिनिसिङको काम गर्दा बाँकी सबै काम गर्नुपर्ने भएपछि शिलालेख हटाएका हौं ।’

बाहिर चर्चा भएजस्तो कसैको निर्देशनका आधारमा यस्तो नगरिएको पौडेलले प्रष्ट पारे । तर, झिकिएको शिलालेख सुरक्षित राखिएको उनले बताए । सरकारले दिने निर्देशनको अधारमा शिलालेख पुनर्स्थापित गरिने उनले बताए ।

‘बाँकी काम काम सकिएपछि हामीलाई सहरी विकास तथा भवन निर्माण विभागले जहाँ जसरी त्यो शिलालेख राख्न भन्छ, त्यसैअनुसार राख्छौं,’ उनले भने,‘अहिले बाहिर हल्ला गरिएजस्तो शिलालेख गायब गरिएको छैन, हटाएको वा फुटाएको छैनौं । सुरक्षित रुपमा कतै राखेका छौं ।’

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal