(Sunday , 12 May,2024)

सर्वोच्च अदालतको फैसला स्वीकार्नुको विकल्प नभएको रेशम चौधरीको भनाई

NepalNewsLine

NepalNewsLine

Image 1

३ जेठ, काठमाडौ - टीकापुर घटनाका आरोपी तथा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले सर्वोच्च अदालतको फैसला स्वीकार्नुको विकल्प नभएको बताएका छन् ।

बुधवार एक विज्ञप्ति जारी गर्दै चौधरीले आफूमाथिको जन्मकैदको सजाय सदर गर्ने सर्वोच्च अदालतको फैसला न्यायिक नभए पनि स्वीकार्नुको विकल्प नभएको बताएका हुन् ।

मंगलबार सर्वोच्चले चौधरीलाई जन्मकैद गर्ने उच्च अदालत, दिपायलको फैसला सदर गरेको थियो । उनले विज्ञप्तिमा भनेका छन् –‘मिति २०८० ज्येष्ठ २ गते सम्माननीय सर्वोच्च सर्वोच्च अदालतले गरेको फैसलामा म प्रति न्यायिक नहुन सक्छ, तर त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न ।’ उनले आफूलाई अझै सर्वोच्च न्यायालयप्रति भरोसा रहेको र सबैलाई सम्मानित सर्वोच्च अदालतको सम्मान गर्न पनि अनुरोध गरेका छन् ।

उनले भनेका छन्–‘हामी सम्मानित अदालतलाई सदा सम्मान गर्छौँ, साथै सम्मानित अदालतलाई सबैले उत्तिकै सम्मान गर्नुपर्दछ । अहिले टीकापुर घटनाको फैसलालाई अनर्गल बनाउँदै जथाभाबी सामाजिक सञ्जालमा जे पायो त्यही पोस्ट नगर्नहुन अनुरोध गर्दछु’ । ’

कमठमाडौंको डिल्लीबजार कारागारमा धैर्य र सहनशीलताका साथ आफूले कैद भुक्तान गरिरहेको भन्दै उनले आफू स्वस्थ रहेको र रत्तिभर मन विचलित नभएको बताएका छन् ।

उनले आफूले कारागारमा ‘धरातल’ नामको पुस्तक लेखिरहेको र छिट्टै सबै सामु साक्षात हुने पनि उल्लेख गरेका छन् । कैलालीको टिकापुरमा २०७२ भदौ ७ गते भएको थरुहट आन्दोलनमा आठ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो ।

थरुहट तथा थारुवान आन्दोलनकारीले प्रहरीसँगको झडपपछि घरेलु हतियार प्रयोग गरेर उनीहरुको हत्या गरेका थिए। त्यो घटनाको मुख्य दोषी रेशम चौधरी भएको आरोप छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal