(Sunday , 12 May,2024)

शरणार्थी प्रकरणको अनुसन्धान ४ दिनभित्र सक्न प्रहरीलाई सरकारी वकिलको निर्देशन

NepalNewsLine

NepalNewsLine

Image 1

३१ वैशाख, काठमाडौं - नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असूली गरेको गिरोहसम्बन्धी अनुसन्धान सकेर ४ दिनभित्र रायसहितको प्रतिवेदन पेश गर्न सरकारी वकिलको कार्यालय, काठमाडौंले निर्देशन दिएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंलाई अनुसन्धान सकेर प्रतिवेदन बुझाउन भन्दै आरोपीहरुविरुद्ध अन्तिम पटक चार दिन म्याद थप गर्न जिल्ला अदालत, काठमाडौंलाई अनुरोध गरिएको जिल्ला सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले बताए । शनिबारदेखि लागू हुने गरी अन्तिम पटक चार दिनको म्याद थप गर्न प्रस्ताव गरिएको उनले बताए ।

‘संगठित अपराधको मुद्दा ६० दिनभित्र अदालतमा पुर्‍याइसक्नुपर्छ, त्यही अनुसार हामीलाई अध्ययनको लागि पनि समय चाहिने हुँदा चार दिनभित्र अनुसन्धान प्रतिवेदन बुझाउन भनेका हौं’, नेउपानेले  भने ।

नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उनी मन्त्री हुँदा गृहसचिव रहेका टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी लगायत पक्राउ परिसकेका छन् ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैत २०७९ मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असूली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए ।

उनीहरुको बयानका आधारमा प्रकरणमा हाई प्रोफाइल कनेक्सन खुलेको थियो । प्रकरणमा पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वसभासद् आङटावा शेर्पा, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापा लगायत फरार छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal