(Sunday , 12 May,2024)

पाँच एजेण्डासहित कांग्रेस शीर्ष नेताको बैठक धुम्बाराहीमा

NepalNewsLine

NepalNewsLine

Image 1

वैशाख १७, काठमाडौं - नेपाली कांग्रेसका शीर्ष नेताहरु बैठक सुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज अपरान्ह साढे ४ बजेबाट बैठक सुरु भएको हो । कांग्रेसका एक पदाधिकारीका अनुसार नीति अधिवेशन, केन्द्रीय समिति बैठक, भ्रातृ संस्थाको पूर्णता, विभाग गठन, मन्त्री छनोट लगायतका विषयमा छलफल हुनेछ । 

गत भदौ ५ यता कांग्रेस केन्द्रीय समिति बैठक बस्न सकेको छैन । गत मंसिर २७ मा १४ औँ महाधिवेशन गरेको कांग्रेसले अहिलेसम्म पार्टी संरचनालाई पूर्णता दिन सकेको छैन । कांग्रेसको विधानमा महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र सांगठनिक संरचनालाई पूर्णता दिनुपर्ने बाध्यात्मक व्यवस्था छ । तर कांग्रेसमा पदाधिकारी, केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समिति र संसदीय बोर्डसमेत अपुरो छ । १४ सदस्यीय पदाधिकारीमा कोषाध्यक्ष मनोनित गर्नै बाँकी छ भने १६८ सदस्यीय केन्द्रीय समितिमा १५६ जना सदस्यमात्र छन् । सभापतिले १२ जना केन्द्रीय सदस्य मनोनित गर्न बाँकी छ ।

पार्टी विधानअनुसार ४६ सदस्यीय कार्यसम्पादन समिति हुनुपर्नेमा अहिले ३६ सदस्यमा सीमित छ । २५ सदस्यीय संसदीय बोर्डमा पदाधिकारीमात्र छन् । बाँकी सदस्य मनोनित गर्न सभापति शेरबहादुर देउवाले नसकेको अवस्था छ । यस्तै २८ वटा विभाग पनि कहिले गठन हुन्छन् भन्ने टुङ्गो छैन । कांग्रेसको पार्टी संरचनामात्र होइन, भ्रातृ संस्था पनि लथालिङ्ग अवस्थामा छन् । गत फागुन ३ गते केन्द्रीय कार्यसम्पादन समितिले १० वटा भ्रातृ संस्थाको कार्यसमिति भङ्ग गरेको थियो । साथै बैठकले फागुन मसान्तभित्र केन्द्रीय तदर्थ समिति गठन गर्ने अधिकार सभापति देउवालाई दिएको थियो ।
सभापति देउवाद्वारा गत वर्ष फागुन ९ मा नेविसंघ, तरुण दल, असार १० मा नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ र साउन २६ मा नेपाल महिला संघमा सभापति मनोनित गरिए पनि बाँकी भ्रातृ संस्थामा नेतृत्व समेत आएको छैन । तदर्थ समितिलाई तीन तहको निर्वाचनको अन्तिम परिणाम आएको तीन महिनाभित्र अधिवेशन गर्नुपर्ने म्यान्डेट दिइएको थियो । गत मंसिरमा आम निर्वाचन सम्पन्न भएकाले तदर्थ समितिले फागुनसम्म महाधिवेशन गरिसक्नुपर्ने थियो । तर, नेतृत्व पाएका भ्रातृ संस्थाले पूर्णतासम्म नपाएको अवस्था छ ।

नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज, नेपाल थारु संघ र नेपाल लोकतान्त्रिक खेलकुद संघ र नेपाल भूतपूर्व सैनिक संघमा एक वर्षदेखि नेतृत्व छैन । वैशाख महिनाभित्रै पार्टीका विभाग र भ्रातृ संस्थालाई पूर्णता दिने तयारीका साथ छलफलमा जुटेको ती पदाधिकारीले बताए ।  बैठकबाट नीति अनुसन्धान प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको टुंगो लगाउने तयारी छ । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा प्रमुखको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले पाएका छन् । प्रतिष्ठान प्रमुखको जिम्मेवारी पाएका उनले बाँकी सदस्य मनोनीत गर्न सकेका छैनन् ।

सभापतिसँगको परामर्शमा प्रतिष्ठान प्रमुखले बढीमा ५१ जनालाई सदस्य मनोनीत गर्ने विधानमा उल्लेख छ । सम्बन्धित विषय क्षेत्रका विज्ञसमेत रहेका कांग्रेसको क्रियाशील सदस्यलाई प्रमुखले प्रतिष्ठानको कार्यकारी निर्देशक र निर्देशकको पदमा नियुक्त गर्नेछन् । प्रतिष्ठानले विभिन्न विषयमा अध्ययन अनुसन्धान गर्न विज्ञ संलग्न गराई विषयगत एकाइ गठन गर्न सक्ने पनि व्यवस्था छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal