३ असार, काठमाडौं - काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ । नगर प्रहरीलाई खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिइसकिएको मेयर बालेन्द्र शाहको सचिवालयले जानकारी दिएको छ ।
मेयर शाहको निर्देशनपछि नगर प्रहरीले आइतबार बेलुकासम्म सबै हलमा पुगेर भारतीय फिल्म नचलाउन निर्देशन दिने भएको छ । ‘मेयरको निर्देशनपछि भोलिदेखि काठमाडौं महानगरका सबै हलमा भारतीय फिल्मको प्रदर्शन रोक्ने निर्णय भएको छ । यसका लागि नगर प्रहरी आजैदेखि खट्नेछन् । काठमाडौं महानगरका ३२ वडाभित्र १७ फिल्म हलहरु छन् ।
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यलाई भारतमा सच्याउन मेयर शाहले फेसबुक स्टाटसमार्फत तीन दिनको अल्टिमेटम दिएका थिए । आइतबार तीन दिन सकिंदासम्म उक्त संवाद नसच्चिएको भन्दै बालेनले सोमबारदेखि भारतीय फिल्म रोक्न निर्देशन दिएका हुन् ।
आइतबार बेलुकासम्म फिल्म निर्माताले भारतमा उक्त संवादलाई सच्याएका छैनन् । बरु उल्टै फिल्मका गीतकार तथा लेखक मनोज मुन्तशीरले सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको भन्दै जानकी भारतकी छोरी रहेको भ्रम सिर्जना गर्न खोजेका छन् ।
मेयर शाहले शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पनि पत्र पठाउँदै उक्त आपत्तिजनक संवाद नसच्चाए नेपालभर भारतीय फिल्मको प्रदर्शन रोक्न आग्रह गर्दै पत्र पठाएका थिए । यसैबीच, चलचित्र संघका पूर्वअध्यक्ष समेत रहेका प्रदीपकुमार उदयले बुटवलस्थित आफ्नो हल द्धारिकाउदय सिनेमाज्बाट चल्दाचल्दैको फिल्म ‘आदिपुरुष’लाई उतारेका छन् । उक्त सिनेमा हल अहिले बन्द गरिएको छ ।
प्रतिक्रिया