(Friday , 10 May,2024)

मीन भामको फिल्मबाट बाहिरियो कलाकारको पात्र ‘लुक्स’

NepalNewsLine

NepalNewsLine

Image 1

 मीनबहादुर भामको निर्देशनमा उपल्लो डोल्पामा छायांकन भइरहेको फिल्म ‘अ इयर अफ कोल्ड’को सेटबाट शीर्ष पात्रको ‘लुक्स’ बाहिरिएको छ । शीर्ष अभिनेताहरु सोनम तोप्देन, तेन्जिङ दल्ला, थिन्ले ल्हामो र लोटेन नाम्लिङको पात्रको लुक्स सार्वजनिक भएको हो ।

उपल्लो डोल्पाको भूगोलमा यी कलाकार पात्र लुक्समा प्रस्तुत छन् । दुई सातादेखि धमाधम छायांकन भइरहेको यो फिल्मलाई विश्वप्रसिद्ध फिल्म फेस्टिभल लोकार्नोको ओपन डोर्स हबले सहनिर्माण गरिरहेको छ । गत वर्ष सुदर्शन थापाले निर्देशन गरेको लभस्टोरी फिल्म ‘सम्हालिन्छ कहिले मन’बाट अभिनयमा डेब्यु गरेका सोनमको यो दोस्रो फिचर फिल्म हो ।


पात्र लुक्समा सोनमको चरित्र रुपान्तरण गज्जबको देखिन्छ । डोल्पाका स्थानीय पात्रको हुलियामा उनी जीवन्त देखिन्छन् । अर्कोतर्फ विपिन कार्कीसँग चर्चित फिल्म ‘नाका’मा अभिनय गरेकी थिन्लेको पनि यो दोस्रो फिचर फिल्म हो ।


नारीप्रधान रोड मुभी ‘अ इयर अफ कोल्ड’को कथावस्तु हिमालय गाउँको पृष्ठभूमि, ग्रामीण र पितृसत्तात्मक वातावरणमा विकसित हुन्छ । यसलाई सर्भाइभल रोड मुभी पनि भनिएको छ । यो फिल्मले एक गर्भवती तिब्बती महिला शरणार्थीको यात्राको कथा भन्छ, जो कानुनी कारणले हराएको पति खोज्न बाध्य छिन् । तर उनीसँग उनका वास्तविक पति, उनको देवर भाइ पनि हुनेछन् ।


‘यो प्रेम, विवाह र बलिदानबारेको फिल्म हो, जहाँ एक केटीले पहिचान र सुरक्षित घरको लागि धेरै जटिलताको सामना गर्छिन् । नेपाली महिलाले राम्रो जीवनको लागि र पितृसत्तात्मक समाजविरुद्ध लड्नका लागि सबै संघर्षको सामना गर्छन्,’ निर्देशक भामले भने ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal