(Saturday , 23 November,2024)

 ७१ हजारभन्दा बढी नेपाली मंसिर महिनामा बिदेसिए

NepalNewsLine

NepalNewsLine

काठमाडौँ । मंसिर महिनामा ७१ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि बिदेसिएका छन् । 

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार पुनः श्रम स्वीकृतिसहित ७१ हजार २७६ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा ३६ हजार ८० जनाले पहिलो पटक श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ । मंसिर महिनामा संसारका १०८ देशमा वैदेशिक रोजगारीका लागि जान भन्दै नेपालीहरूले श्रम स्वीकृति लिएका छन् ।

त्यसरी बाहिरिनेमा ६४ हजार ३४२ जना पुरुष र ६ हजार ९३४ जना महिला रहेका छन् । श्रम स्वीकृति लिनेमा पनि ३१ हजार ४९६ जना पुरुष र ४ हजार ५८४ जना महिला रहेका छन् ।

मंसिर महिनामा व्यक्तिगत श्रम स्वीकृतिमार्फत ७ हजार ९९७ जना बिदेसिएका छन् । मेनपावर तथा एजेन्सीमार्फत २६ हजार ३७५ जना बाहिरिएका छन् । ७३५ मेनपावर कम्पनीमार्फत उनीहरू बाहिरिएका हुन् ।

त्यस्तै मंसिर महिनामा सरकारले नै १ हजार ७०८ जनालाई वैदेशिक रोजगारीमा पठाएको छ । जसमा सबै जना दक्षिण कोरिया गएका छन् । व्यक्तिगत रूपमा पुनः श्रम स्वीकृति लिनेहरूको संख्या ३५ हजार १९६ रहेको छ ।

वैदेशिक रोजगारीमा जाने सबैभन्दा बढी धनुषा जिल्लाका रहेका छन् । जहाँबाट मंसिर महिना मात्रै पुनः श्रम स्वीकृतिसहित ३ हजार ६२१ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै दोस्रोमा झापा रहेको छ ।

झापाबाट ३ हजार ३९७ जनाले पुनः श्रम स्वीकृतिसहित श्रम स्वीकृति लिएका छन् । त्यस्तै मोरङ, सिराह, रूपन्देही, महोत्तरी लगायतका जिल्लाबाट बढी गएको विभागको तथ्यांकले देखाएको छ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal