(Saturday , 11 May,2024)

मलद्वारमा लुकाएर सुन तस्करी गर्ने गिरोहमा भेटियो मन्त्री तीर्थ लामाको कनेक्सन

NepalNewsLine

NepalNewsLine

२९ भाद, काठमाडौं - त्रिभुवन विमानस्थलबाट भइरहेको सुन तस्करी सञ्जालको प्रारम्भिक अनुसन्धानमा बाग्मती प्रदेशका खानेपानी तथा सिंचाइमन्त्री तीर्थ लामाको संलग्नता खुल्ने आधार भेटिएका छन् ।

काठमाडौं प्रहरी परिसरको टोलीले विमानस्थल बाहिरबाट भदौ २५ गते बाबुलाल दोङसहितबाट बरामद गरेको मलद्वारमा लुकाइ ल्याएको सुन प्रकरणमा काभ्रे कांग्रेसका सभापतिसमेत रहेका तीर्थ लामाको कनेक्सन देखिएको हो ।

मन्त्री लामाको विशेष सहयोगी मानिने विकास लामाले विगतमा दुबई बसेकै बेलादेखि सुन तस्करीको काम गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । उनलाई कांग्रेसबाट समानुपातिक उम्मेदवार बनाउनसमेत जिल्ला सभापति तीर्थ लामाले सिफारिस गरेका थिए ।

पछिल्लो पटक बरामद भएको १ किलो सुन प्रकरणमा हालसम्म प्रहरीले काभ्रेको खानीखोला गाउँपालिका( ३ घर भई पनौती नगरपालिका( ५ बस्ने बालुलाल दोङ, रोशी गाउँपलिका( ३ घट्टेखोलाका जगत लामा र महाभारत गाउँपालिका( ३ सानो पोखराका मिङ्मा दोर्जे स्याङतानलाई पक्राउ गरेको छ ।

सोही गिरोहमा संलग्नता खुलेका तरुण दलका केन्द्रीय सदस्य विकास लामा भने प्रहरीले खोजेपछि फरार भएका छन् । कांग्रेस जिल्ला सभापति तथा प्रदेशमन्त्री तीर्थ लामाका निकट सहयोगी विकास कांग्रेसको बाग्मती प्रदेश प्रचार तथा प्रसार विभागमा समेत मनोनीत भएका थिए ।

यसअघि यही गिरोहले पटकपटक ठूलो मात्रामा सुन तस्करी गर्ने गरेको अनुसन्धानमा खुलेको छ । विकास विगतमा पनि आपराधिक काममा संलग्न रहेर जेल बसेपछि छुटेका व्यक्ति हुन् । पक्राउ परेकाहरुले सुन तस्करीमा विकास लामाको नाम पोलेपछि तीर्थको समेत संलग्नता खुल्ने भएकाले काभ्रे कांग्रेसमा खैलाबैला मच्चिएको छ ।

पक्राउ परेकामध्ये एकजना बाबुलाल दोङ माओवादी केन्द्रका सांसद सूर्यमान दोङ निकट रहेको बताइएको छ । अभियुक्तबाट बरामद भएको क्रेटा गाडीबाट मन्त्री तीर्थ लामाले काटेको चेकसमेत भेटिएपछि उनको भने संलग्नता देखिएको बताइएको छ ।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा काभ्रेको महाभारत गाउँपालिका गोकुलेस्थित विकास योञ्जन (लामा) को व्यवसायिक साझेदारका रुपमा मन्त्री तीर्थ र भुम्लु गाउँपालिकाका उपाध्यक्ष जीतेन्द्रमान तामाङसमेत देखिएका छन् । जीतेन्द्र पनि नेपाली कांग्रेसका नेता हुन् ।

एक प्रहरी अधिकारीले भने, ‘विकास लामाको गिरोहले पटक पटक सुन तस्करी गरेको पाइयो । उनीहरुको सीधै कनेक्सन तीर्थ लामामार्फत भएको देखिन्छ । तीर्थ लामाले एयरपोर्ट सेटिङ गरेकोसमेत भन्नेछ । तर, विकासलाई पक्राउ नगरी तीर्थ लामाको थप संलग्नता पुष्टि गर्न सकिएको छैन । अहिले पक्राउ परेकाहरुबाट विकाससम्म पुगिएको छ ।’

विकाससँग तीर्थको राजनीतिक निकटतामात्र नभएर व्यवसायिक र करोडौंको आर्थिक कारोबारसमेत पुष्टि हुने आधारहरु भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरेको बाग्मती प्रदेश ०१ २७ च ९९६० नम्बरको क्रेटा गाडीबाट बरामद भएको चेक तीर्थ लामाको नाममा उनकै खाताबाट काटिएको छ ।

विकास र तीर्थको गिरोहले विगत दुई वर्षदेखि सुन तस्करी गरिरहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । लामाले तत्कालीन गृहमन्त्री बालकृष्ण खाणको आडमा धन्दा चलाएका थिए ।

पक्राउ परेका बाबुलालले सुरुमा सुन आफ्नो रहेको बताए पनि विकास र तीर्थका लागि बोक्ने गरेको खुल्दैछ । यो गिरोहले मासिक १० किलोसम्म सुन विमानस्थलबाट सेटिङमै बाहिर निकाल्ने गरेको पाइएको छ ।

तीर्थ र विकास तथा पक्राउ परेका तीन जना भरियाको खातामा प्रारम्भिक अनुसन्धानबाट पनि वार्षिक ५० करोडभन्दा धेरै कारोवार हुने गरेको देखाएको छ ।

पक्राउ परेका बाबुलाल, जगत लामा र मिङमा दोर्जे स्याङतान भने विकास र तीर्थका भरियामात्र रहेको बुझिएको छ ।

दुबईबाट हिमालयन एयरलाइन्सको उडानमा आएका बाबुलालले मलद्वारमा लुकाएर ल्याएको सुन बरामद गरिएको थियो । यो गिरोहसँगै बरामद भएको गाडीसमेत तीर्थ लामाले प्रयोग गर्ने गरेको पाइएको छ ।

पटक–पटक अपहरण, लुटपाट र चोरीमा पक्राउ परी सजाय भोगेका विकासको अस्वाभाविक आर्थिक अवस्था रहेको कांग्रेस नेताहरु बताउँछन् । काभ्रे, मकवानपुर तथा विभिन्न जिल्लामा भएका अपराधमा उनी संलग्न रहेको र अपराधको रेकर्ड निकालेर हेर्ने काम भइरहेको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

निर्वाचनका समयमा विकासले तीर्थलाई एक करोड चुनावी खर्च उपलब्ध गराएको कांग्रेस नेताहरु बताउँछन् । तीर्थ काभ्रे १ को प्रदेशसभा (क) बाट एमालेका चन्द्र लामालाई ३ मतले हराएर प्रदेश सांसद भएका थिए ।

विकास बनेपा - ९ मा बसोबास गर्दै आएका थिए । तस्करीबाट ल्याएको सुन बनेपामा ल्याएर गाल्ने गरेका थिए । बनेपामा रहेको एउटा सुन गाल्ने पसलमा भारतीय मजदुरलाई त्यसको जिम्मेवारी दिएका थिए ।

साताको दुई केजी सुन दुबईबाट नेपाल ल्याइ नेपाल र भारतका विभिन्न स्थानमा पुर्‍याउने अभियानमा उनीहरुको समूह सक्रिय रहेको खुलेको छ । विमानस्थलमा राजनीतिक सेटिङ गराई दुबईबाट हरेक दिन नेपाल ल्याउने गरेको सुन बोक्ने भरिया हुन् पक्राउ परेका तीन जना बाबुलाल, जगत र मिङमा । उनीहरु तीनै जना विकासको घरमा बस्दै आएका छन् ।

विकासका भाइ निरज योञ्जन अर्का सहयोगी र योजनाकार हुन् । उनीहरुको समूहले सुनका अलावा आईफोन, हुण्डी कारोबारलगायतका अवैध कारोबार गरिरहेको छ । पछिल्लो समय तीर्थको राजनीतिक संरक्षणमा उनीहरुले तस्करीलगायत आपराधिक गतिविधि गरिरहेको काभ्रे प्रहरीको उच्च स्रोतले जनाएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal