(Saturday , 11 May,2024)

सीआईबीले आजसुन काण्डको अनुसन्धान प्रतिवेदन  बुझाउँदै

NepalNewsLine

NepalNewsLine

२७ भाद, काठमाडौं - हङ्कङबाट तस्करी गरी ल्याइएको झण्डै ६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउँदै छ ।

मङ्गलवार प्रतिवेदन तयार पारेको सीआईबीले आज रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउन लागेको हो ।

सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले आज रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइने र त्यसअघि पत्रकार सम्मेलन गरेर उक्त प्रकरणबारे जानकारी दिइने बताइन् ।

आरोपीहरुविरुद्ध सङ्गठित अपराध, सुन चोरी पैठारीलगायत कसुरमा मुद्दा चलाउन राय दिने सीआईबीले तयारी गरेको पनि उनले बताइन् ।

उक्त सुन तस्करी प्रकरणमा अहिलेसम्म प्रहरीले ३१ जनालाई पक्राउ गरेकामा ३० जना प्रहरी नियन्त्रणमा छन् । स्वास्थ्यका कारण एक जना हिरासत बाहिर राखेर अनुसन्धान गरिएको थियो ।

पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल, भारत र चिनियाँ नागरिक पनि रहेका छन् । उक्त प्रकरणमा भन्सार एजेन्ट र सुन व्यापारीसमेत मुछिएका छन् ।

सङ्गठित अपराध कसुरमा म्याद थप गरेर सीआईबीले घटनाको अनुसन्धान गरेको थियो । उक्त प्रकरणमा प्रहरीले अनुसन्धानका लागि ६० दिन म्याद पाउँछ ।

यही भदौ ३१ गते ६० दिन पुग्ने भएकाले सो मितिसम्ममा मुद्दा अदालतमा पुर्याइसक्नुपर्ने हुन्छ । त्यसैले सरकारी वकिललाई तीन दिन मिसिल अध्ययन गर्न समय बाँकी हुन्छ ।

गएको साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङ्कङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।

विभागले आवश्यक अनुसन्धान सकेर १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिएको थियो ।

ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम फेला परेको थियो । सुन अहिले राष्ट्र बैंकको संरक्षणमा छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal