(Sunday , 12 May,2024)

ललितानिवासमा २९० जनाविरुद्ध मुद्दा दर्ता, १८ अर्ब बिगो दाबी

NepalNewsLine

NepalNewsLine

१० भदौ, काठमाडौं - बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा २९० जनाविरुद्ध सरकारी लिखत कीर्तेको कसूरमा मुद्दा दर्ता भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दिएको रायसहितको प्रतिवेदनका आधारमा सरकारी वकिलले आइतबार मुद्दा दर्ता गरेको सरकारी वकिलको कार्यालयका महेश खत्रीले बताए ।

सीआईबीले प्रतिवादीहरुलाई संगठित अपराधको कसूरमा पनि मुद्दा चलाउन सिफारिस गरेको थियो । तर, सरकारी वकिलले संगठित अपराधमा मुद्दा नचल्ने निर्णय गरेको छ ।

सीआईबीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पनि प्रतिवादी बनाउन सिफारिस गरेको थियो ।

तर, सरकारी वकिलले शाहलाई प्रतिवादी बनाउनुनपर्ने निर्णय गरेको छ ।

सीआईबीको अनुसन्धानमा उनले तत्कालीन जिल्ला मालपोत कार्यालय, भक्तपुरको प्रमुख रहँदा भूमाफियालाई सहयोग गर्ने गरी काम गरेको खुलेको थियो ।

त्यसवापत शाहले श्रीमती उर्मिला शाहको नाममा ११ आना २ पैसा जग्गा लिएको सीआईबीको अनुसन्धान प्रतिवेदनमा उल्लेख थियो ।

सुधीर पत्नी उर्मिला शाह र गेहनाथ पत्नी भुवनकुमारी चापागाईंको नाममा कित्ता नं. ३६ को १ रोपनी २ पैसा जग्गा पनि भेटिएको थियो ।

तर, सीआईबीले उनलाई प्रतिवादी बनाएन । बरु सीआईबीले प्रतिवादी बनाउन नपर्ने भनेको सचिव कृष्णबहादुर राउतलाई भने प्रतिवादी बनाउने निर्णय सरकारी वकिलको कार्यालयले गरेको छ ।

ललितानिवासको जग्गाबारे २०४९, २०६०, २०६२, २०६७ र २०६९ सालमा विभिन्न सरकारी निकायबाट निर्णय भएर सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको थियो ।

यो प्रकरणमा १८ अर्ब बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ । पुरानो घटना भएकाले यसमा मुलुकी ऐन, २०२० अनुसारको बिगो दाबी माग गरिएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal