(Sunday , 12 May,2024)

साउने सोमबारमा पशुपतिमा भीड

author

Anonymous

२९ साउन, काठमाडौं । आज साउने सोमबार पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भीड लागेको छ ।

साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दानलगायतका काम गर्दछन् ।

धर्मशास्त्रका जानकार डा। बासुदेवकृष्ण शास्त्रीका अनुसार साउने सोमबारको दिन शिवको पूजा गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

यही विश्वासका साथ काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरुमा पनि पूजापाठ गर्नेहरुको घुइँचो छ ।

चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा गर्नेहरुको घुइँचो लागेको छ । बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो छ ।

बोलबम तीर्थालुहरुले काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्दछन् ।

गतेका हिसाबले आज साउनको अन्तिम सोमबार भए पनि तिथिका हिसाबले साउनका अझै दुई वटा सोमबार बाँकी रहेको धर्मशास्त्रका जानकार डा। बासुदेवकृष्ण शास्त्रीले जानकारी दिए । ‘मलमासका कारण भदौ ४ गते र ११ गते गरी दुई वटा साउने सोमबार बाँकी नै छन्,’ उनले भने ।

उनका अनुसार साउन महिना जनैपूर्णिमाको दिनमात्र सकिन्छ । यस वर्षको जनैपूर्णिमा भदौ ११ गते छ । ‘त्यसैले साउनको अन्तिम सोमबार भदौ ११ गते हो, मलमासका कारण भदौमा पनि साउने सोमबार परे,’ उनले भने ।

साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले अन्तिम सोमबार विधिपूर्वक व्रत समाप्त गर्दछन् ।

त्यसअघि भदौ ४ गते नागपञ्चमीको दिन पनि सोमबार परेको छ । नागपञ्चमीको दिन सोमबार पर्नु झनै शुभ मानिने डा। शास्त्री बताउँछन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal