(Sunday , 12 May,2024)

कैलालीको भीमदत्त राजमार्ग अझै खुलेन : ५ दिनदेखि अवरुद्ध 

NepalNewsLine

NepalNewsLine

२७ साउन, धनगढी - २२ साउनको राति अविरल वर्षापछि गएको पहिरोका कारण सडक भासिएपछि अवरुद्ध भीमदत्त राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन ।

कैलालीको गोदावरी नगरपालिका–४ को बुढीतोलामा अवरुद्ध राजमार्ग खुलाउन २३ गतेदेखि चारवटा डोजरको प्रयोग गरिएको छ तर लगातारको वर्षा र पहिरो खस्ने क्रम नरोकिएपछि सडक खुलाउन नसकिएको हो ।

डिभिजन सडक कार्यालय महेन्द्रनगरका प्रमुख हरि सुवेदीले लगातार वर्षा भइरहेको र भासिएको जमिन दलदल भएकाले राजमार्ग सञ्चालनमा कठिनाइ भएको बताए ।

सडक भासिएको क्षेत्रमा ढुंगा हालेर उठाउने प्रयास भए पनि पानी पर्ने र पहिरो खस्ने क्रम नरोकिएपछि सडक खुलाउन समस्या भएको बताए ।

सुवेदीका अनुसार शनिबार पहिरो गएको ठाउँमा रोकिएका ट्रक तथा बसहरु गन्तव्यतर्फ पठाइएको छ । ‘आज हामीले पहिरो गएको ठाउँमा रोकिएका केही ठूला सवारीसाधन ट्रक र बस पास गरेका छौँ तर लगातारको वर्षा र पहिरो खस्ने क्रम नरोकिएपछि अरु साधन चलाउने मिलेको छैन’, सुवेदीले भने, ‘पहिरो र पानी रोकिएपछि सहज हुने थियो । यात्रुसहितका सवारीसाधन चलाउन समय लाग्ने देखिन्छ ।’

उनकाअनुसार पहिरो गएको ठाउँमा माथिबाट ढुंगासमेत खसिरहेका छन् । अविरल वर्षाका कारण बुढीतोलामा पहिरो जानुका साथै करीब दुई सय मिटर सडक भासिएपछि पाँच दिनदेखि सुदूरपश्चिमका पहाडी जिल्ला र तराईका जिल्लाको यातायात सम्पर्क टुटेको छ ।

यसअघि डिभिजन सडक कार्यालयले २४ गते एकतर्फी रुपमा भएपनि अवरुद्ध राजमार्ग खुुलाएर सवारीसाधन सञ्चालन गर्ने बताएको थियो तर लगातारको वर्षा र पहिरो खस्ने क्रम नरोकिएका कारण थप ढिलाइ भएको बताएको छ ।

यद्यपि बुढीतोला बाहेकका क्षेत्रमा राजमार्गमा अवरोध नभएकाले काम विशेषले यात्रा गर्नेहरुलाई पहिरो भएको स्थानसम्म पारिपट्टी रोकिएका सवारीसाधनले ल्याउने र वारीपट्टीसम्म यात्रुलाई पैदल हिँडाएर अर्को गाडीमार्फत गन्तव्यसम्म छाड्ने व्यवस्था मिलाइएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal