(Sunday , 12 May,2024)

लम्पीस्किन रोगको तत्काल नियन्त्रणको माग गर्दै काठमाडौंमा एमालेको प्रदर्शन

NepalNewsLine

NepalNewsLine

१७ असार, काठमाडौं - नेकपा एमाले काठमाडौं महानगरपालिका कमिटीले लम्पीस्किन रोगको तत्काल नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने भन्दै प्रदर्शन गरेको छ ।

बुधवार काठमाडौंको माईतीघर मण्डलामा भेला भई उनीहरुले सरकारले लम्पीस्किन रोग नियन्त्रणका लागि सरकारले प्रभवकारी कदम चाल्न नसकेको बताएका हुन् । उनीहरुले लम्पी स्किन देशव्पयापी रुपमा फैलिसक्दासमेत सरकारले आवश्यक चासो नदिएको गुनसो गरे ।

प्रदर्शन कार्यक्रममा बोल्दै वागमती प्रदेशका पूर्वमन्त्री रामेश्वर फुँयालले लम्पी स्किन महामारी देशभर फैलिसक्दा समेत सरकार कानमा तेल हालेर बसेकाले सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरेको बताउनु भयो । उहाँले देशभरका किसानहरुलाई समस्या पर्दा सरकारलाई दुख्न नभएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यले देशको आर्थिक अवस्था थला परिरहेको बेलामा लम्पी स्किन रोगले सताइरहेको भन्दै सरकारले आवश्यक ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले रोग नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्न नसकेको र पशुवस्तुमा क्षति पुगेका किसानलाई आवश्यक क्षतिपूर्ति दिनुपर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगालले लम्पी स्किन रोगको तत्काल नियन्त्रण गर्न सरकारले प्रभावकारी कार्यक्रम ल्याउन नसकेको बताउनु भयो । उहाँले पशुलाई लम्पी स्किनको खोप दिनपनि सरकारले ढिलासुस्ती गरिरहेको आरोप लगाउनु भयो ।

प्रदर्शनमा सहभागीहरुले लम्पी स्किन महामारी घोषणा गर, किसानलाई तत्काल बीमा उपलब्ध गराउ, किसानलाई गोठगोठमा सेवा उपलब्ध गराउ, रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था गर, किसानलाई क्षतिपूर्ति र सहुलियत बैंक कर्जा उपलब्ध गराउ लगायतका प्लेकार्ड बोकेर बिरोध प्रदर्शन गरेका थिए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal