(Saturday , 11 May,2024)

ठमेलको होटल भियनामा छापा, एक जना पक्राउ

author

Anonymous

१४ साउन, काठमाडौं । एक क्वीन्टल सुन तस्करी प्रकरणमा कनेक्सन देखिएपछि राजश्व अनुसन्धान विभागले ठमेलस्थित होटल भियनामा छापा मारेको छ ।

विभागको टोलीले आइतबार बिहानदेखि भियनामा छापा मारेर केही कागजात र सामग्रीहरु बरामद गरेको स्रोतले बतायो । विभागको टोलीले होटलबाट एक जना नेपाल मुलका तर, बेल्जियमका नागरिक दावा छिरिङलाई पक्राउ गरेको छ ।

हङकङबाट सुन ल्याएर नेपालमा व्यवस्थापन गर्ने गिरोहसँग जोडिएको पाइएपछि विभागले होटल भियनामा छापा मारेको हो ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, पक्राउ परेका ती व्यक्तिको संलग्नता पुष्टि हुने आधारहरु देखिएपछि पक्राउ गरेर सोधपुछ भइरहेको छ ।

राजश्व अनुसन्धान विभागको टोलीले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको एक क्वीन्टल सुन सिनामंगलबाट बरामद गरेको थियो । त्यसबेला विभागको टोलीले ट्याक्सी चालक अशोक लामालाई नियन्त्रणमा लिएको थियो ।

विभागका अधिकारीहरुका अनुसार, ब्रेक शुभित्र लुकाएर सुन नेपालमा ल्याइएको थियो । सुन ल्याउने रेडी ट्रेड प्रा।लि।का सञ्चालक दोलखाका दिलीप भुजेललाई पनि विभागले पक्राउ गरेको छ ।
तर, तस्कर समूहले उनलाई २० हजार रुपैयाँ दिएर ‘फर्जी’ सञ्चालकको रुपमा खडा गरेको अनुसन्धानका क्रममा खुलेको छ । यसपछि यो प्रकरणमा एक जना चिनियाँ नागरिकसहित भारतीय मुलका तिब्बतीन नागरिक समेत पक्राउ परेका छन् ।

हालसम्म यो प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एजेन्ट र कर्मचारीसहित १८ जना पक्राउ परेका छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal