(Sunday , 12 May,2024)

स्थानीय तहका १४० पालिका प्रशासकीय अधिकृतविहीन

NepalNewsLine

NepalNewsLine

१४ असार, काठमाडौं - जनताको सबैभन्दा नजिकको सरकार स्थानीय तहमा जाने कर्मचारीको चरम अभाव देखिएको छ । मुलुकभरका ७ सय ५३ स्थानीय तहमध्ये १ सय ४० वटामा अहिले प्रमुख प्रशासकीय अधिकृत छैनन् । प्रमुख प्रशासकीय अधिकृतको अभावमा कतिपय स्थानीय तहले बजेट समेत ल्याउन सकेका छैनन् ।

बजेट निर्माण र कार्यान्वयनमा प्रमुख भूमिका रहने प्रमुख प्रशासकीय अधिकृतसहितका जनशक्ति नै पर्याप्त नभएको भन्दै स्थानीय तहहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अतिरिक्त गाउँपालिका महासंघ र नगरपालिका संघमा गुनासो गरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ४४ नगरपालिका र ९६ वटा गाउँपालिकाले बजेट ल्याउँदा निमित्त प्रमुख प्रशासकीय अधिकृत नगर तथा गाउँसभाको सचिव बन्नु परेको थियो ।

संघीय मामिला मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासनका उपसचिव खिलराज राई संघीय तहमा उपसचिव र अधिकृत उपलब्ध नभएर नै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको बताउँछन् ।

उपसचिव राईले भने, ‘प्रमुख प्रशासकीय अधिकृत नभएको ठाउँमा हामीले निमित्त दिइरहेका छौं, संघमा भएका झण्डै एक सय कर्मचारीहरुलाई स्थानीय तहमा पठाएका छौं ।’ उनले अहिले अतिरिक्तमा पनि स्थानीय तहमा जाने कर्मचारी नभएको बताए ।

‘स्थानीय तहमा पठाएका सबै कर्मचारी प्रायः अतिरिक्तकै थिए, अहिले अत्तिरिक्तका दीर्घरोगी, सेवा अवधि कम भएका, प्राविधिक कठिनाइ भएका करिब २० जना मात्रै कर्मचारी छन,’ राईले भने ।

उनले स्थानीय तहमा अन्य कर्मचारीहरु संघको दरबन्दीमा प्रमुख प्रशासकीय मात्रै पठाउने बताए ।

‘प्रमुख प्रशासकीय मात्रै पठाउने हाम्रो जिम्मेवारी हो । तर, अहिले स्थानीय तहमा शिक्षा, स्वास्थ्य, इन्जिनियर पशु, कृषि जस्ता क्षेत्रमा कर्मचारी नभएको व्यापक गुनसो छ,’ उनले भने ।

स्थानीय तहमा चाहिने कर्मचारी भर्ना गर्न प्रदेश सरकारले लोकसेवा मार्फत पदपूर्ति गर्नुपर्ने भए पनि त्यो नगरेको राई बताउँछन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal