(Sunday , 12 May,2024)

काठमाडौं गोलि कान्डमा संलग्न थप एक जना पक्राउ

NepalNewsLine

NepalNewsLine


६ असार, काठमाडौं - लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) काठमाडौंसँग भएको मुठभेडमा गोली लागेर घाइते भएका भारतीय नागरिक विकास भगतसँग सम्बन्ध देखिएका एक जनालाई प्रहरीले धरानबाट पक्राउ गरेको छ ।

ब्यूरोका एसपी चक्रराज जोशीका अनुसार धरानको भानु चोकस्थित सब्जीमण्डीबाट प्रहरीले राम भजनलाई पक्राउ गरेको हो । उनका अनुसार भारतीय नागरिक भगत जोगवनी नाकाबाट नेपालमा लागूऔषध ब्राउन सुगर भित्र्याउने नाइके हुन् ।

‘लामो समयदेखि सर्भिलेन्स गरिरहेका थियौं, २९ जेठमा उनी काठमाडौं आएका बेला पछ्याउँदै जाँदा प्रहरीलाई आक्रमण गर्न खोजेपछि गोली चलाउनु परेको थियो’, जोशीले भने, ‘हाल उनी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छन् ।’

उपचारमा भएकाले प्रहरीले अदालतबाट म्याद लिन पाएको छैन । औपचारिक बयान पनि भएको छैन । तर, अनौपचारिक सोधपुछका आधारमा प्रहरीले छानबिन जारी राखेको छ ।

त्यही क्रममा लागूऔषध कारोबारमा भगतका सहयोगीमाथि पनि प्रहरीले नजर राखेको छ । ‘भगतको लागूऔषध गिरोहका एक सदस्य रहेको खुलेपछि भजनलाई धरानबाट पक्राउ गरेर काठमाडौं ल्याउँदैछौं’, जोशीले भने ।

धरानबाट विराटनगर हुँदै काठमाडौं आएका भगतलाई प्रहरीले २८ जेठमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निस्किने वित्तिकैदेखि पिछा गरेको थियो । प्रहरी अधिकृतहरुका अनुसार भगत लागूऔषध लिएर आएको सूचना थियो ।

त्यसक्रममा उनी विमानस्थल पछाडि पीपलबोटको बायाँतर्फबाट गौशाला जाने बाटोतिर गएका थिए । त्यहाँको एक होटलमा प्रवेश गर्ने वित्तिकै प्रहरी पनि भित्र छिरेको थियो । त्यसक्रममा प्रहरीसँग घम्साघम्सी भएको अधिकृतहरु बताउँछन् ।

‘त्यसदिन घटनास्थलबाट १०० ग्राम लागूऔषध ब्राउन सुगर बरामद भएको थियो, उनको बयान लिएर थप नेक्ससबारे छानबिन जारी छ’, जोशी थप्छन् ।

लागूऔषधको मुद्दामा प्रहरीले ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानूनी व्यवस्था छ । लामो समयदेखि धरानमा बस्दै आएका भगत त्यहाँ तरकारी पसल सञ्चालन गर्थे । त्यही पसलको आवरणमा उनले सञ्जाल नै खडा गरेर लागूऔषध विक्री वितरण गर्ने गरेको प्रहरी दाबी छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal