(Saturday , 11 May,2024)

अझै भेटिएनन् सुनकोशीमा बेपत्ता सिटिइभिटीका ३ कर्मचारी, खोजी जारी

author

Anonymous

२१ जेठ, काठमाडौं - सुनकोशी नदीमा गाडी खस्दा बेपत्ता भएका सिटिइभिटीका ३ जना कर्मचारी अझै फेला परेका छैनन्।

३ दिनसम्म खोजी गर्दा पनि बेपत्ताहरू र गाडी फेला नपरेको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जिवी दाहालले खोजी कार्य जारी रहेको जानकारी दिए।

गत शुक्रबार सुनकोशीमा सिटिइभिटीको गाडी र त्यसमा सवार ३ जना खसेका थिए। गाडीका चालकलाई भने गत शुक्रबार नै उद्धार गरिएको थियो।

सिटिइभिटी प्रशासन महाशाखाका निर्देशक सहसचिव ५७ वर्षीय कृष्णबहादुर केसी, योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेलको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनास्थलमा गोताखोरसहित ३ वटा स्काभेटर परिचालन गरेर बेपत्ताहरूको खोजी भइरहेको छ।

‘नदीको धार परिवर्तन गर्न तीन स्काभेटर प्रयोग गरिएको छ। ७ जना गोताखोरको टोली परिचालन गरी खोजी भइरहेको छ,ʼ दाहालले भने, "गाडी खसेको २ किलोमिटर आसपासमा खोजीसक्यौं, भेटिएको छैन।"

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित ४० जनाको टोली परिचालन गरी खोजी कार्यलाई निरन्तरता दिइएको छ। घटनास्थलमा चालकको मोबाइल भने फेला परेको छ।

शुक्रबार सिटिइभिटीको बा १ झ ७४६७ नम्बरको गाडी सुनकोशी नदीमा खसेको थियो। 

गाडीका चालक ३१ वर्षीय कृष्ण चौधरीलाई सोही दिन शुक्रबार नै उद्धार गरिएको थियो। उनको अवस्था सामान्य छ। गाडीको ब्रेक फेल भई भित्तामा बज्रिएर गाडी नदीमा खसेको प्रहरीलाई बताएका छन्। 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal