(Sunday , 12 May,2024)

बूढानीलकण्ठ दुर्घटना प्रकरण का पृथ्वी मल्ललाई ४ वर्ष कैद र ४० हजार जरिवाना हुने

NepalNewsLine

NepalNewsLine

०८ जेठ, काठमाडौँ - बूढानीलकण्ठ सवारी दुर्घटनाका प्रतिवादी पृथ्वी मल्ललाई ४ वर्ष थुनामा राख्ने फैसला सुनाइएको छ । उच्च अदालत पाटनले आइतबार प्रतिवादी पृथ्वी मल्ललाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो । उच्च अदालत पाटनका न्यायाधीशद्वय राजेन्द्र खरेल र जगदीश घिमिरेको संयुक्त इजलासले मल्ललाई हुने कैद सजाय र जरिवानाको फैसला निर्धारण गरेका हुन् । यसअघि गत वैशाख १९ गते न्यायाधीशद्वय खरेल र घिमिरेको इजलासले अभियोग दावी पुग्ने ठहर गर्दै सजाय निर्धारणका लागि जेठ ७ गतेको पेसी तोकेको थियो । 

हाई प्रोफाइल व्यक्तिहरु जोडिएको बुढानीलकण्ठ सवारी दुर्घटना प्रकरणमा सडकपेटीमा हिँडिरहेकी लिला देवकोटाको मृत्यु भएको थियो । २०७६ मंसिर २८ गते बिहान मदिरामा लठ्ठ रहेका पृथ्वी मल्लसहित उनका साथी र अन्य दुई युवतीहरु सवार कारले सडकपेटीमा पुगेर ठक्कर दिएपछि देवकोटाको मृत्यु भएको थियो । देवकोटाको मृत्यु भएपछि उनका पति रामकुमार देवकोटाले किटानी जाहेरी दिएपछि प्रहरीले मल्ललाई पक्राउ गरी सवारी ज्यान कसुरमा १० वर्षको कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाएको थियो । 

तर काठमाडौं जिल्ला अदालतले ‘भवितव्य दुर्घटना’ भन्दै प्रतिवादी पृथ्वी मल्ललाई ६ महिना मात्रै कैद गरेपछि वादी नेपाल सरकार पुनरावेदन लिएर उच्च अदालत पाटन पुगेको थियो । काठमाडौं जिल्ला अदालतले फैसला गर्दा ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ को उपदफा ३ बमोजिमको कसुर’ गरेको भन्दै ६ महिना कैद र २ हजार रुपैयाँ मात्रै जरिवाना गरेको थियो । 

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश सूर्यप्रसाद अधिकारीले उक्त मुद्दालाई लापरबाही नभई भवितव्य भन्दै प्रतिवादीलाई ६ महिना मात्रै कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएपछि फैसलामा कैफियत देखिएको भन्दै उनलाई कारवाहीस्वरुप न्याय परिषद् काजमा तानेर छानबिन गरिएको थियो । छानबिनबाट कारवाही वा क्लिनचिट नपाउँदै न्यायाधीश अधिकारी उमेर हदका कारण अनिवार्य अवकाशमा गइसकेका छन् ।

तर उच्च अदालत पाटनले भने उक्त दुर्घटनालाई भवितव्य नभएर गम्भीर लापरवाही रहेको भन्दै प्रतिवादी पृथ्वी मल्ललाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो । मल्लले मदिरा सेवन गरी चलाएको वा १४ च ६१२३ नम्बरको कारले ठक्कर दिदा २०७६ मंसिर २८ मा पैदलयात्री लीला देवकोटाको मृत्यु भएको थियो । सडकमा हिँडिरहेकी देवकोटालाई मल्लले हाँकेको कारले विपरित दिशाबाट आएर ठक्कर दिएको थियो । उच्च अदालतले २०७९ वैशाख १९ मा जिल्ला अदालतको त्यही फैसलालाई उल्ट्याई आइतबार सजाय निर्धारण गरेको हो । 

घटनास्थलबाट पक्राउ परेका मल्लको स्वास्थ्य जाँचका क्रममा उनले मदिरा सेवन गरेर कार हाँकेको खुलेको थियो । उनले जिल्ला अदालतमा बयानका क्रममा आफ्नो गाडीको स्टेयरिङ लक भएको र ब्रेक जाम भएकाले दुर्घटना भएको दावी पेश गरेका थिए । तर, मेकानिकल जाँच प्रतिवेदनले स्टेरिङ र ब्रेक ठीक रहेको देखाएको थियो ।  त्यसपछि उच्च अदालत पाटनले ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ को उपदफा २ बमोजिमको कसुर’ गरेको भन्दै फैसला सुनाएको थियो । उक्त दफामा कसैको ज्यान जानसक्छ भन्ने जान्दाजान्दै पनि सवारी चलाई सवारीसाधनको भित्र वा बाहिर भएको कुनै व्यक्तिलाई ठक्कर दिई तत्कालै वा चोटका कारण २१ दिनभित्र मृत्यु भएमा त्यस्ता सवारी चालकलाई तीन वर्षदेखि १० वर्षसम्म कैद र तीन हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । 

जिल्ला अदालतको फैसलालगत्तै देशबाहिर पुगेका मल्ल अब जिल्ला अदालतको फैसला उल्टिएलगत्तै थप ३ वर्ष ३ महिना जेलमा बस्नुपर्ने भएको छ । यसअघि मल्ल करिब ९ महिना थुनामा बसेका थिए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal