(Friday , 10 May,2024)

लुम्बिनीलाई नौ विकेटले हरायो सुदूरपश्चिम प्रदेशले

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो दिन शुक्रबार खेलिएको खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई नौ विकेटले पराजित गरेको छ । सुदूरपश्चिम प्रदेशले हासिल गरेको यो पहिलो जित हो ।

टस जिती पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले निर्धारित ओभरमा सात विकेट गुमाएर ७१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको सुदूरपश्चिम प्रदेशले ९।५ ओभरमै केवल एक विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो ।

सुदूरपश्चिम प्रदेशका लागि ओपनर रेवती धामीले अविजित १७ रन बनाइन् । उनले २५ बलमा दुई चौका पनि प्रहार गरिन् । अर्की ओपनर रुबी पोद्दारले १४ रन जोडिन् । उनले २२ बलमा एक चौका हिर्काइन् ।

तेस्रो नम्बरकी ब्याटर कविता जोशीले टोलीका लागि अविजित २४ रनको योगदान गरिन् । उनले केवल १२ बलमा एक छक्का र तीन चौका प्रहार गरेकी थिइन् । सुदूरपश्चिम प्रदेशले अतिरिक्त रुपमा १७ रन पाएको थियो । लुम्बनीकी बलर मधु डीसीले एक विकेट लिइन् ।

त्यसअघि काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गरेको लुम्बिनीका लागि सरस्वती पुनले सर्वाधिक १९ रन बनाइन् । चौथो नम्बरकी ब्याट्र सरस्वतीले ३० बलमा तीन चौका पनि हिर्काइन् ।

ओपनर आसमा पुलामी मगरले पनि टोलीको खातामा १६ रन थपेकी थिइन् । रन आउट भई पेभेलियन फर्किनुअघि उनले २४ बलमा दुई चौका हिर्काइन् । सातौँ नम्बरकी ब्याटर सुस्मिता बजगाइँले पनि १४ रन जोडिन् । उनले १९ बलमा दुई चौका प्रहार गरिन् ।

लुम्बिनी प्रदेशका अन्य ब्याट्रले दोहोरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनीले अतिरिक्त रुपमा ६ रन पाएको थियो । सुदूरपश्चिम प्रदेशकी बलर लक्ष्मी साउदले दुई विकेट लिइन् । ईश्वरी विष्ट, अनु कडायत र रितु कनौजियाले पनि एक–एक विकेट हात पारे । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal