(Saturday , 11 May,2024)

अस्ट्रेलियाली क्रिकेटमा विचित्रको घटना, मिडल स्टम्प ढले पनि अम्पायरले ब्याट्सम्यानलाई दिएनन् आउट

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । अस्ट्रेलियाको घरेलु क्रिकेटका क्रममा एउटा विचित्रको घटना भएको छ । अस्ट्रेलियाको तेस्रो श्रेणीको एसीटी क्रिकेट प्रतियोगिताका क्रममा यस्तो घटना भएको हो । खेलका क्रममा बलरले फालेको बलले लागेर ‘मिडल स्टम्प’ (बिचको स्टम्प) ढले पनि अम्पायरले ब्याट्सम्यानलाई आउट दिएनन् । 

खासमा बलरले फालेको बलले लागेर ‘मिडल स्टम्प’ त ढल्यो तर, स्टम्पमाथि राखिएको ‘बेल्स’ भने जस्ताको त्यस्तै रह्यो । स्टम्प ढलेपछि बलरले आउटको ‘अपिल’ गरे । अम्पायर पनि केही समय अलमलमा परे । तर, उनले ब्याट्सम्यानलाई आउट भने दिएनन् ।

‘स्टम्प’ ढल्दा पनि फिल्डमा रहेका अम्पायरले ब्याट्सम्यानलाई आउट नदिएपछि मैदानमा बिवाद पनि भयो । त्यसपछि क्रिकेटको निमयमाथि बहस सुरु भयो । मैदानमा रहेका अम्पायरले क्रिकेटको नियमकै आधारमा आफूले ‘स्टम्प’ ढले पनि ब्याट्सम्यानलाई आउट घोषणा नगरेको दाबी गरे ।

 उक्त घटना आइतबार जिनिनदेरा क्रिकेट क्लब र वेस्ट डिस्ट्रिक्टबिचको खेलका क्रममा भएको थियो । जिनिनदेरा क्रिकेट क्लबका बलर एन्डी रेनोल्ड्सले फालेको बलले लागेर ‘मिडल स्टम्प’ ढलेको थियो । त्यतिबेला वेस्ट डिस्ट्रिक्टका ओपनर ब्याट्सम्यान म्याथ्यू बोसुत्सो ब्याटिङ गरिरहेका थिए ।

‘स्टम्प’ ढलेपछि ब्याट्सम्यान पेभेलियनतर्फ लागिसकेका थिए । तर, अम्पायरले आउटको संकेत नगरेपछि उनी पनि अन्यौलमा परेका थिए । पछि ‘स्टम्प’ माथि राखिएको ‘बेल्स’ आफ्नो स्थानमा यथावत रहेकाले अम्पायरले आफूलाई आउट घोषणा नगरेको थाहा पाएपछि उनी पुनः क्रिज समाल्न फर्किएका थिए । 

क्रिकेटको नियमले पनि स्टम्पमाथि राखिएको कम्तिमा एउटा बेल नखसेसम्म ब्याट्सम्यानलाई आउट भएको मान्दैन । ‘मैले आफ्नो खेलजीवनमा यसअघि यस्तो घटना कहिल्यै देखेको थिइन,’ वेस्ट डिस्ट्रिक्टका कप्तान साम विटम्यानले भनेका छन्, ‘मैलेमात्र होइन मैदानमा उपस्थित हामी कसैले पनि यस्तो घटना देखेका थिएनौं ।’- एजेन्सी

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal