(Friday , 10 May,2024)

यूएई चार विकेटले विजयी,नेपालको अपत्यारिलो हार

NepalNewsLine

NepalNewsLine

Image 1

१० कार्तिक,काठमाडौँ - उत्कृष्ट प्रदर्शन गर्दै उपाधि भिडन्तसम्म पुगेको आयोजक राष्ट्र नेपाल त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खलाको फाइनलमा चुकेको छ । शुक्रबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई चार विकेट हरायो । 

टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ६२ रन बनाएको थियो । मध्यम लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी टोली यूएईले १९.५ ओभरमा ६ विकेट गुमाएर एक सय ६७ रन बनाउँदै विजय लक्ष्य पार गरेको हो ।

यूएईको जितमा कप्तान मुहम्मद वसिमले ४५ रनको योगदान गरे । वृत्य अरविन्दले २६ रन बनाए । अर्का ओपनर आर्यान्श शर्माले पनि टोलीका लागि २५ रनको योगदान गरे । वासिल हमिदले अविजित २२ र आयान अफजल खानले अविजित पाँच रन बनाए । 

नेपाली टोलीका बलर गुल्सन झा र अविनाश बोहराले दुई—दुई विकेट लिए । कुशल मल्लले पनि एक विकेट हात पारे । फाइनलमा नेपाली टोलीका मध्यक्रमका ब्याट्सम्यानहरु खासै प्रभावकारी देखिएका थिएनन् । नेपाली बलरहरुले पनि प्रारम्भमा यूएईलाई निकै बढी रन दिए ।

यूएईले पहिलो विकेटका रूपमा ओपनर ब्याट्सम्यान मुहम्मद वसिमलाई गुमाएको थियो । उनलाई नेपाली बलर गुल्सन झाले ४५ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । यूएईका कप्तानसमेत रहेका वसिमले केवल २२ बलको सामना गरी दुई छक्का र सात चौका हिर्काएका थिए । उनी आउट हुँदा यूएईले ६.४ ओभरमा एक विकेट गुमाएर ७१ रन बनाएको थियो ।

यूएईले दोस्रो विकेटका रूपमा ओपनर ब्याट्सम्यान आर्यान्श शर्मालाई गुमाएको थियो । उनी २६ बलमा दुई चौकाको मद्दतले २५ रन बनाउँदै आउट भएका थिए । उनलाई कुशल मल्लले सन्दिप जोराद्वारा क्याच गराएका हुन् । विकेटकिपर ब्याट्सम्यान आर्यान्श आउट हुँदा यूएईले ९.३ ओभरमा ८५ रन बनाएको थियो । 

यूएईले तेस्रो विकेटका रूपमा आसिफ खानलाई सात रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो । उनले ६ बलमा एक छक्का पनि हिर्काएका थिए । उनलाई गुल्सन झाले अविनाश बोहरामार्फत क्याच गराएका थिए । गुल्सन झाको यो दोस्रो विकेट थियो । उनी आउट हुँदा यूएईले १०.५ ओभरमा ९४ रन बनाएको थियो ।

यूएईले चौथो विकेटका रूपमा एलिसन सराफु पेभेयिन फर्किएका थिए । उनी १३ बलमा दुई चौकाको मद्दतले १३ रन बनाउँदै आउट भएका थिए । उनलाई अविनाश बोहराले कुशल भुर्तेलमार्फत क्याच गराएका थिए । उनी आउट हुँदा यूएईले १४.३ ओभरमा चार विकेट गुमाएर एक सय २० रन बनाएको थियो ।

यूएईको पाँचौँ विकेटका रूपमा वृत्य अरविन्द पेभेलियन फर्किएका थिए । उनी २५ बलमा तीन चौकाको मद्दतले २६ रन बनाउँदै आउट भएका थिए । उनलाई दिपेन्द्रसिंह ऐरीले रनआउट गराएका थिए । उनी आउट हुँदा यूएईले १५.४ ओभरमा एक सय २७ रन बनाएको थियो ।

यूएईले छैठौँ विकेटका रूपमा अली नासिरलाई ११ रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो । उनले नौ बलको सामना गरी एक चौका पनि हिर्काएका थिए । उनलाई अविनाश बोहराले बोल्ड गरेका थिए । 

त्यसअघि नेपालले टस हारी आठ विकेट गुमाएर एक सय ६२ रन बनाएको थियो । अन्तिम ओभरमा समेत नेपालले गतिलो रन बटुल्न सकेनन् । नेपालले अन्तिम ओभरमा दुई रन मात्र बनाएको थियो । करण केसी २३ रन बनाउँदै अविजित रहे । उनले १७ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काए । अविनाश बोहरा शून्य रनमा अविजित रहे । नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ५० रनको योगदान गरे । 

नेपालले आफ्नो पहिलो विकेटका रूपमा ओपनर ब्याट्सम्यान आसिफ शेखलाई गुमाएको थियो । उनी १२ बलमा एक चौकाको मद्दतले सात रन बनाउँदै आउट भएका थिए । उनी आउट हुँदा नेपालले पाँच ओभरमा एक विकेट गुमाएर ४३ रन बनाएको थियो । उनलाई यूएईका बलर आयान अफजल खानले बोल्ड गरेका थिए ।

नेपालको दोस्रो विकेटका रूपमा कुशल मल्ल पेभेलियन फर्किएका थिए । उनी दुई बलको सामना गरी एक रन बनाउँदै आउट भएका थिए । ६.४ ओभरमा उनी आउट हुँदा नेपालले दुई विकेट गुमाएर ६३ रन बनाएको थियो । उनलाई पनि यूएईका बलर आयान अफजल खानले नै बोल्ड गरेका थिए ।

नेपालले तेस्रो विकेटका रूपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । उनले टोलीका लागि अर्धसतकीय योगदान गरे । उनी अर्धसतक पुरा गरेलगत्तै अर्को बलमा पेभेलियन फर्किएका हुन् । उनले २८ बलमा तीन छक्का र ६ चौकाको मद्दतले अर्धसतक पुरा गरेका थिए । 

कुशल भुर्तेललाई यूएईका बलर जाहुर खानले बोल्ड गरेका हुन् । उनी आउट हुँदा नेपालले ७.३ ओभरमा तीन विकेट गुमाएर ६८ रन बनाएको थियो । त्यसअघि खेलको प्रारम्भमै चौका प्रहार गर्दा उनको ब्याट पनि भाँचिएको थियो । 

उनले यूएईका बलर मुहम्मद जवादुल्लाहको बलमा चौका प्रहार गरेका थिए । सोही क्रममा उनको ब्याट भाँचिएको थियो । त्यसपछि उनले अर्को ब्याट लिएर खेल अगाडि बढाएका थिए । खेलका क्रममा उनी दुई पटक क्याच आउट हुनबाट जोगिएका थिए । 

यसैगरी नेपालले चौथो विकेटका रूपमा कप्तान रोहित पौडेललाई गुमाएको थियो । उनी १७ बलको सामना गरी एक चौकाको मद्दतले १८ रन बनाउँदै आउट भएका हुन् । उनलाई यूएईका बलर अली नासिरले विकेटकिपर आर्यान्श शर्माद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा नेपालले १२।१ ओभरमा चार विकेट गुमाएर एक सय आठ रन बनाएको थियो ।

नेपालले पाँचौँ विकेटका रूपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो । उनी १५ बलमा एक छक्का र एक चौकाको मद्दतले २० रन बनाउँदै आउट भएका थिए । उनलाई यूएईका बलर अली नासिरले बोल्ड गरेका थिए । दीपेन्द्र आउट हुँदा नेपालले १२.४ ओभरमा पाँच विकेट गुमाएर एक सय नौ रन बनाएको थियो ।

यसैगरी नेपालले छैठौँ विकेटका रूपमा सन्दिप जोरालाई गुमाएको थियो । उनी १० बलमा एक चौकाको मद्दतले १० रन बनाउँदै आउट भएका थिए । उनलाई यूएईका बलर जाहुर खानले मुहम्मद वसिमद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा नेपालले १५.१ ओभरमा ६ विकेट गुमाएर एक सय २३ रन बनाएको थियो ।

नेपालले सातौँ विकेटका रूपमा गुल्सन झालाई गुमाएको थियो । उनी आठ बलमा पाँच रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई यूएईका बलर जुनैद सिद्धकीले मुहम्मद वसिमद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा नेपालले १६.१ ओभरमा सात विकेट गुमाएर एक सय ३१ रन बनाएको थियो । 

यसैगरी नेपालले आठौँ विकेटका रूपमा सोमपाल कामीलाई गुमाएको थियो । उनी आठ बलमा दुई चौकाको मद्दतले १३ रन बनाउँदै आउट भएका थिए । उनलाई यूएईका बलर आयान अफजल खानले बोल्ड गरेका हुन् । 

उनी आउट हुँदा नेपालले १७.४ ओभरमा आठ विकेट गुमाएर एक सय ४३ रन बनाएको थियो । निकट भविष्यमा नेपालमै आयोजना हुने टी-२० विश्वकप क्रिकेटको एसियाली क्षेत्रको छनोट प्रतियोगिताको तयारीका क्रममा यो त्रिकोणात्मक शृंखला खेलिएको हो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal