(Friday , 10 May,2024)

 मनसुन सकिदा पनि डेंगु संक्रमित ४० हजार नाघे, सरकार भने मौसम परिवर्तनकै भरमा 

author

Arpana Bhujel

Image 1

३ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा मनसुन रोकिएसँगै डेंगुका बिरामी बढ्दै गएका छन् । उपत्यकाका अधिकांश अस्पतालमा डेंगुको जटिलताबाट भर्ना हुने बिरामी संख्या दिनप्रतिदिन बढिरहेको छ ।

डेंगुको संक्रमणको जोखिम केही जिल्लाहरूमा अझै बढ्न सक्ने विज्ञको अनुमान छ । गत वर्ष काठमाडौं उपत्यकामा महामारीको रूप लिएको डेंगु केही दिनयता उपत्यकासहित केही जिल्लामा बढ्दै गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले देखाएको छ ।

यो वर्ष सबैभन्दा धेरै डेंगुबाट प्रभावित भएका सुनसरी, झापा, धादिङ, मोरङलगायत जिल्लामा संक्रमणदर घट्दै गएको छ । तर, गोरखा, कास्की, तनहुँ, काठमाडौंमा भने बढ्दै गएको छ ।

महाशाखाको तथ्यांक अनुसार यसवर्ष डेंगु संक्रमण ७६ जिल्लामा देखिसकेको छ । डेंगु एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने खालको रोग भए पनि यो सरुवा रोगभित्र नै पर्छ । डेंगु संक्रमित व्यक्तिलाई लामखुट्टेले टोकेर सोही लामखुट्टेले अर्को व्यक्तिलाई पनि टोकेमा डेंगुको संक्रमण अर्को व्यक्तिमा पनि हुन्छ ।

विज्ञहरु दसैंको समयमा डेंगु प्रभावित क्षेत्रबाट गाँउघरमा फर्किनेहरु बढी हुँदा डेंगु नफैलिएको क्षेत्रमा पनि डेंगु बढ्सक्ने सरुवा रोग विशेषज्ञ डा। शेर बहादुर पुन बताउँछन् ।

‘स्थानीय ठाउँमा रहेको लामखुट्टे वृद्धि–विकास भइरहेको रहेको ठाउँ बढि जोखिममा हुन्छ’, डा. पुन भन्छन्, ‘भखरै संक्रमित भएका बिरामीको शरीरमा भाइरस रहिरहेको हुन्छ । स्थानीय लामखुट्टेले बिरामीलाई टोक्दा लामखुट्टे पहिला संक्रमित भएर अन्य व्यक्तिलाई संक्रमण गराउन सक्छ ।’

सन् २०२३ सुरु भएदेखि हालसम्म ४० हजार ५३१ जनामा संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै, संक्रमणका कारण हालसम्म २० जनाले ज्यान गुमाइसकेका छन् ।

महाशाखाको पछिल्लो तथ्यांक हेर्ने हो भने संक्रमणदर विस्तारै बढेको देखिन्छ । अहिले डेंगु मिल्दा जुल्दा लक्षण लिएर अस्पताल पुग्नेहरूको संख्या कायमै रहेको डा. पुन बताउँछन् ।

मनसुन सकिएपछि डेंगुको संक्रमण बढ्ने गरेको छ । तर, यसको जोखिम केही समयसम्म रहन्छ । मनसुन सकिए पनि नेपालमा डेंगुको संक्रमण रोकिएको छैन ।

तापक्रम घट्दै जाँदा डेंगुको जोखिम पनि कम हुँदै जाने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य शाखा प्रमुख डा। गोकर्ण दाहाल बताउँछन् ।

तापक्रम घट्दै जाँदा डेंगु जोखिम पनि कम हुँदै जाने उनको भनाइ छ । तर, संक्रमणको जोखिम भने कात्तिक महिनासम्म रहिरहने डा. दाहालले बताए ।

‘डेंगुको जोखिम कात्तिक महिनासम्म हुन्छ । केही ठाउँमा बढ्दै गएको संक्रमण क्लस्टरका रूपमा देखिए पनि प्रकोपको रूप लिन सक्दैन’, डा। दाहलले भने, ‘अहिले केही संक्रमित अस्पताल पुगेको पनि पोहोरजस्तो धेरै छैन । ओपीडीमा बिरामी अस्पताल आएपनि भर्ना गनुपर्ने केस छैन ।’

यसो हुँदा अब डेंगु संक्रमण विस्तारै कम हुँदै जाने उनको बुझाइ छ । ‘चिसो बढ्न थालेपछि यो घट्न सक्छ । तथ्यांकलाई हेर्ने हो भने एक लेभलमा पुगेपछि ह्वात्तै बढेको छैन  र, अब विस्तारै कम हुँदै जाने देखिन्छ,’ डा. दाहालले थपे ।

तर, हरेक वर्ष डेंगु संक्रमण देखिने गरे पनि सरकारले यसका लागि कुनै ठोस कदम भने चाल्न सकेको छैन । हरेक वर्ष देखिने डेंगु संक्रमणबाट वर्षेनि मानिसहरूको मृत्यु हुने गरेको छ ।

देशैभर फैलिएको डेंगुले हजारौं संक्रमित र सयौं मानिसको ज्यान लिइरहँदा पनि सरकार जाडो महिना कहिले आउला र डेंगु प्रकोप सकिएला भनेर चुप लागेर बसेको ईडीसीडीका पूर्वप्रमुख डा. बाबुराम मरासिनी बताउँछन् ।

‘रोग सुरु हुँदाबाट नै त्यसको रोकथाम र नियन्त्रण गर्ने प्रयासमा जाँदा धेरै छिट्टो त्यसको क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ । तर, त्यसप्रति सरकार गम्भीर नभएको भएन’ डा।मरासिनी भन्छन् ‘प्रत्येक वर्ष डेंगुले यतिको क्षति गरिसक्दा पनि सरकार मुकदर्शक नै भएर बसेको छ ।’

नेपालमा पहिलोपटक सन् २००४ मा नेपालमा एक जनामा मात्रै डेंगु संक्रमण पुष्टि भएको थियो । त्यस्तै, सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा संक्रमण पुष्टि भएको थियो । र, संक्रमणकै कारण ८८ जनाको मृत्यु भएको थियो ।

डेंगु भाइरसबाट संक्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट डेंगु सर्छ । एडिज जातका लामखुट्टे पानी जम्मा भएको जुनसुकै ठाउँमा पनि हुर्कन सक्छन् । जसका कारण आफ्नो घर वरपर पानी जम्ने सबै खाल्डाखुल्डी पुर्नुपर्छ ।

प्राय दिउँसोको समय सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने हुनाले, डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न विज्ञहरूको सुझाव छ ।

लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्छ । यसका लागि पानी जम्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न दिनुहुँदैन ।

पानीको ट्याकींलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्नुपर्छ । एडिज लामखुट्टेले दिउँसो टोक्ने हुँदा पूरा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ ।

साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ । लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलम दल्न पनि सकिन्छ । घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुने चिकित्सकहरुको सुझाव छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal