(Monday , 13 May,2024)

 इजरायल र प्यालेस्टाइनबीचको युद्ध रोक्ने प्रयासमा इजिप्टमा शान्ति सम्मेलन,गाजामा पहिलो खेप राहत सामग्री पुर्याइयो 

NepalNewsLine

NepalNewsLine

Image 1

५ कात्तिक, काठमाडौं - इजरायल र प्यालेस्टाइनबीचको लडाइँबाट अति प्रभावित गाजा क्षेत्रमा पहिलो खेप राहत सामग्री पुर्याइएको छ । इजिप्टसँग जोडिएको सीमा नाका रफाहबाट २० ट्रक राहत सामग्री शनिबार गाजामा पुर्याइएको हो ।

एउटा ट्रकमा मृतकलाई राखिने कफिनमात्र रहेको बीबीसीले जनाएको छ । यसैगरी घाइतेहरुका लागि पोर्टेबल ट्रमा ब्याग, औषधि र अन्य अत्यावश्यक सामग्री पनि रहेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल भ्रमण गर्दा राहत सामग्री पुर्याउनका लागि इजिप्टसँग जोडिएको सीमा नाका खोल्न दिन आग्रह गरेका थिए । सोही आग्रह बमोजिम इजरायलले शनिबार उक्त सीमा नाका खुला गरेको हो । रफाह नाकाबाट राहत सामग्री गाजामा पुगेको र अब सोही नाकाबाट विदेशी नागरिकहरु बाहिर निस्किन पाउने प्रतिक्षा गरिएको बीबीसीले उल्लेख गरेका छन् ।

गत असोज २० गते प्यालेस्टाइन लडाकु समूह हमासले इजरायलमा एक्कासी आक्रमण गरेको थियो । लगत्तै इजरायलले पनि युद्धको घोषणा गर्दै जवाफी आक्रमण थालेको थियो । गाजा क्षेत्रमा अहिलेसम्म ४ हजार ३८५ जनाको मृत्यु पुष्टि भइसकेको बीबीसीले जनाएको छ । मृतकमध्ये १ हजार ७५६ जना बालबालिकाहरु छन् ।

यसैबीच इजिप्टको राजधानी कायरोमा इजरायल–प्यालेस्टाइन युद्ध रोक्नका लागि शान्ति सम्मेलन भइरहेको छ । सम्मेलनमा जोर्डन, कतार, इटली, स्पेन, युरोपेली संघ र बेलायतका प्रतिनिधिहरु सहभागी छन् । अमेरिका, इजरायल र इरान भने सम्मेलनमा सहभागी छैनन् ।

सम्मेलनमा सहभागी प्यालेस्टाइन नेता महमुद अब्बासले आफूहरुले आफ्नो भूमि नछोड्ने अडान लिएका छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal