(Monday , 13 May,2024)

अमेरिकामा रक्षामन्त्री अस्पतालमा भर्ना हुँदा राष्ट्रपति बेखबर

NepalNewsLine

NepalNewsLine

Image 1

वासिङ्टन डिसी । अमेरिकामा रक्षामन्त्री बिरामी परेर अस्पतालमा भर्ना भएर बसेको कुरा कयौँ दिनसम्म राष्ट्रपतिलाई जानकारी नगराइएको खुलासा भएको छ । सीबीएसलाई उदृत गर्दै बीबीसीले आइतबार यसबारे समाचार छापेको छ । समाचारका अनुसार रक्षामन्त्री ल्योड अष्टिन बिरामी परेर अस्पताल भर्ना भएर बसेको कुरा कयौँ दिनसम्म बाइडेन प्रशासनलाई थाहा थिएन  ।

७० वर्षका अष्टिन सोमबार वाल्टर रिड मेडिकल सेन्टरमा भर्ना भएका थिए । शल्यक्रिया पछि केही जटिलता उत्पन्न भएकाले उनलाई अस्पतालमा भर्ना गर्नु परेको थियो । तर कम्तिमा पनि बिहीबार बिहानसम्म ह्वाइट हाउसलाई यसबारे जानकारी थिएन । आफूले अस्पताल भर्नाबारे जानकारी दिन नसकेको अष्टिनले पनि स्वीकार गरेका छन् । सर्वसाधारणहरुलाई यसबारे सुसूचित गराउन सक्ने भएपनि आफूले त्यस्तो नगरेको अष्टिनको भनाइ छ ।

अमेरिकी सेनाको चेन अफ कमान्डमा रक्षा मन्त्री राष्ट्रपतिभन्दा तल छन् । आफ्नो स्थितिबारे भन्न जरुरी भएको पनि उनले बताएका छन् । अष्टिन अस्पतालमै रहँदा एएफपी न्यूज एजेन्सीले रक्षा मन्त्रालयका प्रवक्ताको भनाई उद्धृत गर्दै अष्टिन काममा फर्किएको समाचार समेत लेखेको थियो । बिरामी भएकै कारण अष्टिनले आफ्ना कति जिम्मेवारी पूरा गरे भन्ने चाहिँ स्पष्ट भइसकेको छैन ।

रक्षामन्त्री बिरामी भएर अस्पताल भर्ना भएकोबारे ह्वाइटहाउसलाई बेखबर राखिएकोबारे रिपब्लिकन सांसदहरुले गम्भीर चासो व्यक्त गरिरहेका छन् । मध्य पूर्वमा अमेरिकी सैन्य सेवाका सदस्यहरूमाथि खतरा बढिरहेकै बेलामा चेन अफ कमान्डमा यस्तो खालको हेलचेक्राईको केहीले आलोचना गरेका छन् । केहीले शीष रक्षा अधिकारीको निर्णय क्षमतामाथि नै प्रश्न पनि उठाएका छन् । सन् २०२० मा उनी पहिलो अफ्रिकी–अमेरिकी रक्षामन्त्री बनेका थिए । - एजेन्सी

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal