(Tuesday , 03 December,2024)

 पनामा र कोलम्बियाको भयानक जंगल पार गर्दै अमेरिकातर्फ लागे चार लाख आप्रवासीहरू

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ - पनामा र कोलम्बियाबीचको भयानक जङ्गल खण्ड पार गरेर अमेरिका जाने आप्रवासीको सङ्ख्या यो वर्ष चार लाख नाघेको छ । 

गत वर्षको तुलनामा यो सङ्ख्या ६२ प्रतिशतले बढी भएको पनामा सरकारले बिहीबार जनाएको हो । ड्यारियन ग्याप भएर अमेरिका जानु ज्यादै जोखिमपूर्ण मानिन्छ किनभने  यो बाटोमा घना जङ्गल छ । 

जङ्गली जनावरको डर उत्तिकै छ भने विभिन्न किसिमका खोलानाला पार गर्नुपर्छ । जोखिम यतिमा समाप्त हुँदैन । आप्रवासीलाई लुट्न आपराधिक गिरोहहरू जङ्गलमा नै बसिरहेका हुन्छन् । 

भाग्यवश उनीहरू लुटिएनन् भने पनि ती गिरोहले सुरक्षित बाटो देखाइदिने नाममा आप्रवासीहरूबाट पैसा भने असुलेरै छाड्छन् । 

आप्रवासीहरूका लागि दुई सय ६५ किलोमिटर लामो जोखिमपूर्ण ड्यारियन ग्यापको बाटो दक्षिण अमेरिकाबाट मध्य अमेरिका र मेक्सिको हुँदै संयुक्त राज्य अमेरिका पुग्ने प्रमुख ‘कोरिडोर’बनेको छ ।
पनामाका अधिकारीहरूलाई घना जङ्गल क्षेत्र ड्यारियन ग्यापमा मर्ने आप्रवासीहरूको वास्तविक सङ्ख्याबारे जाानकारी छैन ।

उनीहरूलाई यससम्बन्धमा कसैले कुनै जानकारी उपलव्ध गराएको छैन तर धेरै आप्रवासीको यो कठिन यात्रामा मृत्यु हुने गरेको छ । 

पनामाको गृह मन्त्रालयले बुधवारसम्म चार लाख दुई हजार ३० जना ड्यारियन ग्यापतर्फ गएका बताएको छ । कोलम्बियाबाट हरेक दिन चार हजार आप्रवासी त्यसतर्फ जाने गरेका छन् ।

कोलम्बियबाट अमेरिका सपना लिएर जाने अधिकांशमा भेनेजुएला, हाइटी, इक्वेडर र कोलम्बियाका नागरिक छन् भने तिनमा केही चिनियाँ र अफगानिस्तानी पनि छन् ।
 
आप्रवासीहरूको आगमन यति ठूलो छ कि पनामाले देशका विभिन्न भागमा आप्रवासीहरूको लागि सहायता केन्द्रहरू स्थापना गरेको छ ।

गृहमन्त्री जुआन पिनोले  थेग्नै नसकिने गरी आप्रवासीको बाढी आएको र आफूहरूले भरमग्दुर प्रयास गरिरहेको बताएका छन् ।

आप्रवासीहरूको थेग्नै नसकिने आगमनलाई नियन्त्रण गर्न पनामा सरकारले यसै महिनादेखि गैरकानुनी रूपमा आफ्नो भूमिमा प्रवेश गर्नेहरूलाई फर्काउन थालेको छ । यद्यपि त्यो नियन्त्रण हुन सकेको छैन ।

-रासस

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal