(Saturday , 11 May,2024)

बागमती प्रदेशसभाले चारवटा विधेयकलाई छलफलका लागि संसदीय समितिमा पठाइयो

NepalNewsLine

NepalNewsLine

Image 1

३० भाद्र, मकवानपुर - बागमती प्रदेशसभाले चार वटा विधेयकलाई छलफलका लागि संसदीय समितिमा पठाएको छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले संसद्मा पेस भएको चारवटा विधेयकलाई दफावार छलफल तथा संशोधनसहित संसदीय समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मत पारित गरेको हो ।

प्रदेशसभाको शुक्रबार दिउँसो बसेको बैठकमा सामाजिक विकास मन्त्री कुमारी मोक्तानले संसद् बैठकमा पेस गरेको ‘विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई दफावार छलफलका लागि शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाइएको हो भने स्वास्थ्य मन्त्री उत्तम जोशीले ‘प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’ लाई दफावार छलफलका लागि शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाइएको छ ।

त्यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठका तर्फबाट मन्त्री मोक्तानले संसद्मा पेस गरेको ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ लाई दफावार छलफलका लागि प्रदेश मामिला समितिमा पठाइएको छ भने कृषि तथा पशुपन्छी विकास मन्त्री डा। राजेन्द्रमान श्रेष्ठले संसद्मा पेस गरेको ‘प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई दफावार छलफलका लागि शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाइएको छ ।

त्यसअघि प्रदेशसभा बैठकको विशेष समयमा भाग लिँदै २२ जना सांसदले आफ्नो धारणा राखेका थिए । उनीहरूले विशेष समयमा भाग लिँदै चिकित्सक माथि भएको साङ्घातिक आक्रमणको विषयलाई उठाएका थिए भने एक किलो सुन तस्करीमा प्रदेशका मन्त्रीको नै संलग्नता भएको भन्दै जवाफ माग गरेका छन् ।

नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले चिकित्सक माथि भएको आक्रमणले राज्यको सुरक्षा संयन्त्र माथि नै प्रश्न चिन्ह खडा गरेको बताए । उनले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । उनले राज्यको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त राख्न प्रदेश सरकारले भूमिका निर्वाह गर्न सक्नु पर्ने बताए । सुन तस्करीमा प्रदेश मन्त्री कै नाम मुछिनु राम्रो नभएको भन्दै उनले सो विषयमा जवाफ माग गरेका छन् ।

त्यस्तै प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले चिकित्सकमाथि भएको कुटपिटको घटनाको छानबिनका लागि उच्च स्तरीय समितिको माग गरेका छन् । उनले अस्पतालमा उपचारमा भएको लाहपरवाहीबाट बिरामीको मृत्यु भएको हुन सक्ने भन्दै त्यसतर्फ सरकारले उच्च स्तरीय समिति माग गरेका हुन् । उनले सुन तस्करीमा प्रदेश सरकारका मन्त्रीको संलग्नता देखिएको भन्दै त्यस विषयमा जवाफ दिनुपर्ने उनले बताए ।

नेपाली कांग्रेसकी सांसद समिता खड्गीले नेपालमा डाक्टरहरूको जीवन सुरक्षित हुन नसकेको बताइन् । उनले हेटौँडामा भएको डाक्टर कुटपिटको घटनाको छानबिन गरी दोषी उपर कारबाही हुनुपर्ने माग गरिन् । डाक्टर माथि हातपातको शृङ्खला कायम रहे नागरिकहरूले अस्पतालमा उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था आउन सक्ने तर्फ सरकार सचेत हुनुपर्ने बताइन् ।

प्रदेशसभाका सदस्यहरूले बैठकमा कृषकहरूको समस्याहरू समाधानमा सरकारले पहल गर्नुपर्ने बताए । घानखेतीमा विभिन्न रोगको प्रकोपबाट कृषकहरू चिन्तित बनेभन्दै उनीहरूले कृषकहरूको समस्या समाधानमा सरकारले काम गर्नुपर्ने उनीहरूले बताए । सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रको विकासका कामको नियमन तथा अनुगमनमा सरकारी संयन्त्रबाट हुने गरेको कमीकमजोरी सुधारमा जिम्मेवार ढङ्गबाट काम गर्नुपर्ने उनीहरूको भनाई छ ।

प्रदेशसभा बैठकले संविधान सभा अध्यक्ष, प्रतिनिधिसभाका पूर्व सभामुख, पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको असामयिक निधन भएकोमा श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव समेत पारित गरेको छ । प्रदेशसभाको अर्को बैठक असोज १४ गते बिहान ११ः३० बजे बस्ने गरी स्थगित गरिएको छ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal