(Friday , 10 May,2024)

गण्डकीका चारवटै संसदीय समितिका सभापति निर्विरोध

NepalNewsLine

NepalNewsLine

Image 1

२० असोज, पोखरा - गण्डकी प्रदेशसभाको चार वटै संसदीय समिति सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।

समितिहरु ३० साउनमै बनेका थिए, तर त्यसको झण्डै दुई महिनापछि सभापतिहरु चयन भएका हुन् ।

प्रमुख दलहरुबीच नेपाली कांग्रेसले २ र नेकपा एमाले र माओवादी केन्द्रले एकएक वटा समितिको सभापति भएको थियो ।

सहमतिअनुसार कांग्रेस र माओवादीले सभापतिको उम्मेदवार टुंगो लगाएपनि एमालेले निर्णय नगर्दा अड्किएको थियो ।

एमाले संसदीय दलका नेता खगराज अधिकारीले प्रदेश अधिवेशन सकिएपछि समिति सभापतिका लागि निर्वाचन गर्न आग्रह गरेका थिए ।

एमालेको अधिवेशन समापन भएको भोलिपल्टै शनिबार संसदीय समितिका सभापतिहरुका लागि मनोनयन राखिएको थियो, त्यसमा सहमति अनुसार नै उम्मेदवारी परेको छ ।

लेखा समितिको सभापतिमा एमालेका सुदिरकुमार पौडेलको उम्मेदवारी परेको छ ।

अर्थ तथा विकास समितिको सभापतिमा कांग्रेसका भोजराज अर्याल र प्रदेश मामिला तथा कानून समितिको सभापतिमा कांग्रेसकै चम्पादेवी खड्काको उम्मेदवारी परेको छ ।

अर्याल संसदीय दलको नेताको निर्वाचनमा सुरेन्द्रराज पाण्डेसँग प्रतिस्पर्धा गरेका थिए ।

दलको नेतामा प्रतिस्पर्धा गरेका संस्थापन इतर समूहका पाका प्रदेशसभा सांसद अर्याललाई अर्थ तथा विकासको नेतृत्व दिएको हो । खड्का पूर्व संविधानसभा सदस्य समेत हुन् ।

सामाजिक विकास तथा कृषि समितिको सभापतिमा फणिन्द्र देवकोटाको मात्र उम्मेदवारी परेको छ ।

नेपाल समाजवादी पार्टीका देवकोटाले माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव जितेर आएका थिए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal