(Sunday , 12 May,2024)

६ महिनासम्म दिन नसकेको खुशीको खबर बारे बोलिन रेनु दाहाल

NepalNewsLine

NepalNewsLine

Image 1

२९ भाद्र, काठमाडौं - भरतपुर महानगरपालिकाकी मेयर दाहालले ‘ढुक्क हुनुस् रंगशाला बन्छ,’ भनेर ६ महिना अगाडि फेसबुकमा स्टाटस लेखेकी थिइन् ।

त्यसको केही दिनपछि अर्को स्टाटसमा उनले लेखेकी थिइन्, ‘अथक प्रयासपछि हामी सबैको सपना गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने कार्य पुरा हुँदै ।

बधाई छ, चितवनबासीलगायत सम्पूर्ण खेलाडीहरूमा । साथै सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यू एवं नेपाल सरकारलाई हार्दिक धन्यवाद ।’

मन्त्रिपरिषदले रंगशालाको स्वामित्व लिएर निर्माण कार्य अघि बढाउने निर्णय गरेपश्चात दाहालको यो उत्साही स्टाटस आएको थियो । उनका यी दुवै स्टाटस अहिले सामाजिक सञ्जालमा भाइरल छन् ।

धेरैले उनलाई ट्याग गरेर प्रश्न गरिरहेका छन्, ‘खुशीको खबर खोई ?'

अत्यधिक प्रश्न उठेपछि मेयर दाहालले आज एक सार्वजनिक कार्यक्रममा आफ्नो प्रष्टीकरण दिएकी छन् । उनले रंगशाला बन्नेमा ढुक्क हुन फेरि एकपटक आग्रह गरिन् ।

धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरको सहकार्यमा निर्माण थालिएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला आर्थिक अभावका कारण अलपत्र परिरहेको छ ।

फाउन्डेसनबाट रंगशालाको स्वामित्व लिए पनि महानगरले निर्माण सुचारु गर्न सकेको छैन । महागनरले रंगशाला निर्माणका क्रममा लागेको ऋण फरफारक गर्न नसक्दा थप काम अगाडि बढाउन नसकेको हो ।

संघीय सरकारले उधारो फरकफारकका लागि १२ करोड रूपैयाँ महानगरलाई निकासा पनि गरेको थियो । मन्त्रिपरिषदको निर्णयपश्चात अर्थ मन्त्रालयले निकासा गरेको रकम महानगरले अर्थमै फिर्ता पठाइदियो ।

मेयर दाहालले ऋण तिर्नका लागि समय कम भएकाले सरकारबाट आएको १२ करोड फिर्ता गरिएको बताइन् । अब फेरि मन्त्रिपरिषदले निर्णय गरेर पैसा पठाउने उनको दाबी छ ।

ठूलो लागतको परियोजना भएकाले एकैपटक बजेट छुट्याएर रंगशाला निर्माणलाई पूर्णता दिन नसकिने दाहालले बताइन् । बागमती प्रदेश सरकार र महानगरको सहकार्यमा चरणबद्धरुपले रंगशालाको काम अघि बढाइने उनको भनाइ थियो ।

‘ढुक्क हुनुस्, भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बन्छ । केही दिनमा खुशीको खबर सुन्न पाउनुहुनेछ,’ उनले फेसबुकमा लेखेकी थिइन् । तर, अहिलेसम्म त्यस्तो ‘खुशीको खबर’ केही आएको छैन ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal