(Friday , 10 May,2024)

पोखरा महानगरले हटायो बसपार्कका ग्यारेज

NepalNewsLine

NepalNewsLine

Image 1

१९ भाद्र, पोखरा - पोखरा महानगरपालिकाले बसपार्कको जग्गा ओगटेर बनेका एक दर्जनभन्दा बढी गाडी ग्यारेज बन्द गरिदिएको छ । एक महिनाअगाडि नै सार्वजनिक सूचना जारी गरी बसपार्क क्षेत्रका ग्यारेज, कवाडखाना हटाउन आग्रह गरे पनि अटेर गरेकाले बन्द गराएको महानगरपालिकाले जनाएको छ ।

‘बसपार्कको क्षेत्रमा बनेका ग्यारेज, मेटल सेन्टरहरुले ठूलो क्षेत्रफल खाएका थिए । गाडीहरु मर्मत गर्न राख्दा कुनैकुनै त महिनौं दिनसम्म पनि पार्किङ भएर बस्थे, अब त्यो समस्या रहँदैन’, महानगरको यातायात व्यवस्थापन समितिका संयोजक तथा वडा नं. १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले ।

बसपार्क क्षेत्रभित्र बनेका कवाडखानाहरुलाई २२ गतेसम्म स्थानान्तरण गर्न महानगरले निर्देशन दिएको छ । पछिल्ला वडाध्यक्ष तिमिल्सिनाले बसपार्क बाहिर पार्किङ निषेध गर्ने, सडकको देब्रे भागमा रेलिङ लगाउने, ढल निकासलगायतका काम पनि भइरहेको जानकारी दिए ।

‘पृथ्वीचोकदेखि चाइनापुलसम्म सडकको देब्रे भागमा रेलिङ लगाएका छौं । बसपार्कभित्र पनि ४० मिटर ढलान र फुटट्रयाक, मोभेबल शौचालय, काउन्टर लगायतको काम भइरहेको छ,’ तिमिल्सिनाले भने, ‘त्यसबाहेक कुन ठाउँ जाने बस कुन क्षेत्रमा बस्ने भन्ने गरी स्थान पनि तोक्दैछौं ।’

मुख्य समस्या कायमै

बसपार्क बनाउने भन्दै २०३२ सालमै पोखरा नगर उपत्यका विकास समितिले अधिग्रहण गरेको २०५ रोपनी जग्गामा व्यवस्थित बसपार्क बनेन नै अतिक्रमणको चपेटामा पर्दा अहिले मुस्किलले ३० रोपनीमात्रै बाँकी छ ।

व्यवस्थित बसपार्क बन्ने चर्चा चलेको ५ दशक पुग्न लाग्दासमेत पोखरेलीको चाहना पूरा हुन पाएको छैन । बसपार्क बनाउन बर्षेनि महानगरपालिकाले बजेट विनियोजन गर्दै आएको छ । तर, दर्जनौं पटक डीपीआर भएर पनि योजना लागू हुन सकेको छैन ।

चर्चाका लागि बर्षेनि कहिले केही खाल्डो पुर्ने त कहिले ढल सफा गर्नेबाहेक अन्य प्रगति हुन सकेको छैन ।

तर, त्यहाँका सुकुम्बासी व्यवस्थापन गर्न भने महानगर नेतृत्व उदासिन हुँदै आएको छ । निवर्तमान मेयर मानबहादुर जिसीको पालामा ०७५ फागुन १० गते वास्तविक र नक्कली सुकुम्बासी छुट्याउन ४ सदस्यीय छनबिन समिति गठन गरिएको थियो ।

वडा नं ९ का तत्कालिन अध्यक्ष रामराज लामिछाने नेतृत्वमा गठित उक्त छानबिन समितिले १०४ परिवारसँग लालपूर्जा भएको र २७६ परिवार विभिन्न जिल्लाबाट आएर अवैध रुपमा बसोबास गरिरहेको देखाएको थियो । तत्कालीन मेयर जिसीले प्रतिवेदन बुझ्दै ‘सुकुम्बासीलाई अन्यत्रै व्यवस्थान’ र ‘हुकुम्बासीलाई धपाउने’ जिकिर गरेका थिए ।

वर्तमान मेयर धनराज आचार्यले पनि सुकुम्बासी समस्या चाँडै हल हुने र सिटी बसपार्क बनाउने बताउँदै आएका छन् । तर, उनको योजनाले समेत मूर्त रुप लिन सकेको छैन ।

०७९ जेठ २५ गते बसपार्कमा बनेको नाला गण्डकी प्रदेशका तत्कालीन भौतिक मन्त्री कुमार खड्कासँग संयुक्त शिलान्यास गर्दै ३ वर्षभित्र सिटी बसपार्क बनिसक्ने घोषणा गरेका थिए ।

‘यहाँ जग्गाको समस्या छ । अरु अन्य केही समस्याहरु पनि छन् । ती सबै समस्याको समाधान गरेर हामी ३ वर्षभित्र आधुनिक र सुविधासम्पन्न बसपार्क निर्माण गरिसक्छौं,’ उनले भनेका थिए, ‘कसैले अन्याय हुन्छ कि भनेर सोच्न जरुरी छैन ।’

तर, उनले व्यवस्थित सिटी बसपार्क बनाउने घोषणा गरेको एक वर्षसम्म पनि सुकुम्बासी  सुल्झिएकै छैन । मेयर आचार्यले बसपार्क क्षेत्रमा भइरहेको अतिक्रमण हटाई व्यवस्थित बसपार्क निर्माण गर्ने महानगरको योजना कायमै रहेको बताए ।

मेयर आचार्यले बसपार्क क्षेत्रमा रहेको भूमिहीन सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोबासीलाई निस्सा वितरणको पहिलो चरणको काम सकिइसकेकाले अब व्यवस्थापन गर्न धेरै समय नलाग्ने दाबी गरे ।

‘अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरणको पहिलो चरणको कार्य सम्पन्न भइसकेको छ’, उनले भने, ‘अब दोस्रो चरणमा तिनीहरूको व्यवस्थापनको काम सुरु हुनेछ ।’

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal