(Saturday , 11 May,2024)

धरान जाँदै हिन्दुवादीहरू, राप्रपाका नेताहरूको अगुवाइ

author

Anonymous

Image 1

विराटनगर । गौहत्याको विरोधमा हिन्दुवादीहरू र्‍यालीसहित धरान जाने तयारी गरेका छन् । विराटनगरको कञ्चनबारीमा भेला भएका हिन्दुवादीहरू र्‍यालीसहित धरान हिँडेका हुन् । र्‍यालीको नेतृत्व राप्रपाका नेताहरूले गरिरहेका छन् । उनीहरूले गणतन्त्र तथा वर्तमान सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् भने हिन्दु राष्ट्र बनाउनुपर्ने माग गरिरहेका छन् । स्थितिलाई नियन्त्रणमा राख्नका लागि प्रहरीले विराटनगरको बीच बाटोमा नै चेकजाँचलाई कडाइ गरेको छ । 

उता, स्थानीय प्रशासनले धरानका विभिन्न स्थानमा निषेधाज्ञा नै जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार निषेधाज्ञा जारी गर्दै सूचना जारी गरेकी हुन् । 

धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नपा १ मा पर्ने झण्डा चोकदेखि घरानतर्फको क्षेत्र धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम दक्षिण रामधुनी नपा ६ नं.बाट बराहक्षेत्र नपा वडा नं. ३ नडाहा चोकबाट धरानतर्फको क्षेत्र, इटहरी उपमहानगरपालिका वडा नं.२० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्र, धरान उपमहानगरपालिका वडा नं. ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी गापा वडा नं. ६ भेडेटारबाट घरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो । 

यता, धरानका सबै राजनीतिक दलहरूले पनि सामाजिक सद्भाव कायम गर्न र द्वन्द्वको वातावरण अन्त्य गर्न सबै पक्षलाई अपिल गरेका छन् । शुक्रबार बसेको सर्वदलीय बैठकले विगत केही दिनदेखि धरानमा देखिएको असहज परिस्थितिले सामाजिक सद्भाव, सहिष्णु वातावरण बिथोलिने आशङ्का उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal