(Saturday , 11 May,2024)

एक दिनअगाडि नै ‘एमालेका ७ र राप्रपाका २ सांसद घरायसी समस्यामा

NepalNewsLine

NepalNewsLine

Image 1

३ भाद्र, विराटनगर - कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने अघिल्लो दिन एमालेका ६ सांसद भने ‘घरायसी समस्या’मा परेका छन् । एमालेकै १ जना सांसद यसअघि नै विदेश भ्रमणमा निस्किएका छन् । यस्तै राप्रपाका सांसदहरू अम्बरबहादुर विष्ट र गोपालबहादुर विश्वकर्मा पनि ‘घरायसी समस्या’मा परेर भोलिको प्रदेशसभा बैठकमा अनुपस्थित हुने भएका छन् । 

यसरी घरायसी समस्या देखाएर बिदामा बस्ने सबै सांसदहरू ज्येष्ठ सदस्यहरू हुन् । गत साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थापाले भोलि विश्वासको मत लिन प्रदेशसभाको बैठक आव्हान भएको छ । बैठकमा प्रदेशसभामा ज्येष्ठ सदस्य रहेका ६ जना सांसदहरू अनुपस्थित हुने भएपछि एमालेको रणनीति विश्वासको मत फेल गराउने रहेको कतिपयले बताएका छन् । एमालेको रणनीतिमा राप्रपा पनि लागेको छ । 

एमालेबाट निर्वाचित सांसद रहेकी हालकी उपसभामुख सिर्जना दनुवार प्रदेशसभा बैठकका अनुपस्थित हुने चर्चा चलिरहेको थियो । उनी अनुपस्थित भएको खण्डमा ज्येष्ठ सदस्यहरूले बैठकको अध्यक्षता गर्नुपर्ने नियम छ । तर, आफ्ना सबै ज्येष्ठ सदस्यहरू अनुपस्थित गराएर एमालेले प्रदेशसभाको अध्यक्षता सत्ता गठबन्धनकै सांसदले गर्नुपर्ने परिस्थिति निर्माण गर्न लागेको हो ।

अध्यक्ष मण्डलमा रहेका राप्रपाका सांसद अम्बरबहादुर विष्टले पनि भोलिको बैठकमा उपस्थित हुन नसक्ने बताएका छन् । यस्तै राप्रपाकै अर्का सांसद गोपालबहादुर विश्वकर्मा पनि संसद् बैठकमा उपस्थित हुन नसक्ने भन्दै बिदामा बसेको संसद् सचिवालयले जनाएको छ ।  यसरी बिदामा बसेका एमालेका सांसदहरूमा रोहितबहादुर कार्की, मालतीकुमारी लिम्बू, रामप्रसाद महतो, तारादेवी ढकाल, खड्गबहादुर बस्नेत, ज्ञानेन्द्र सुवेदी रहेका छन् । एमालेका सांसद ईश्वरचन्द्र दुलाल बिदा लिएर अमेरिका गएका छन् । 

प्रदेशसभामा सभामुख र उपसभामुखको नहुँदा ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्नुपर्ने हुन्छ । तर, उपसभामुखले राजीनामा नदिएको अवस्थामा भने अध्यक्ष मण्डलमा रहेका सदस्यहरूले बैठक सञ्चालन गर्ने व्यवस्था प्रदेशसभा नियमावलीमा छ । नियमावली अनुसार उपसभामुख पनि अनुपस्थित भएको अवस्थामा अध्यक्ष मण्डलमा बाँकी रहेका इस्राइल मन्सुरी र गीता तिम्सिना गठबन्धनका सांसद हुन् । राप्रपाका विष्ट र एमालेकी लिम्बू पनि अध्यक्ष मण्डलमा थिए । दुवै जना बिदामा बसेका छन् ।

तर, प्रदेशसभामा सभामुख र उपसभामुख चयन नभएको अवस्थामा भने ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्ने व्यवस्था छ । एमालेका ज्येष्ठ सदस्यले बैठकमा अनुपस्थित हुने सूचना दिएकोले उपसभामुख सिर्जना दनुवार पनि आउने सम्भावना कम देखिएको छ । उनी पनि नआएको खण्डमा वा राजीनामा दिएको खण्डमा भने ज्येष्ठ सदस्यको १३ औँ नम्बरमा रहेका कांग्रेसका अमृत अर्यालले प्रदेशसभाको अध्यक्षता गर्नुपर्ने भएको छ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal