(Sunday , 12 May,2024)

बाढीले बगाएको ६ वर्षपछि बल्ल बन्यो लोहन्द्रा खोलामा पुल र नहर

author

Anonymous

Image 1

विराटनगर । २०७४ सालको बाढीले बगाएको लोहन्द्रा खोलाको पुल र सुनसरी–मोरङ सिँचाई आयोजनाको नहरको उद्घाटन भएको छ । पुल र नहर बगाएको ८ वर्षपछि ३४ करोड ९ लाख रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न भएको हो । 

उक्त पुल र नहरको मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले उद्घाटन गरे । 

उक्त पुल र नहर बनेसँगै लोहन्द्रा खोलाबाट पूर्वको १४ हजार हेक्टर जमिनमा सिँचाई सुविधा पुग्ने भएको छ । 

यसअघि पुल र नहर बगाएसँगै उक्त जमिनमा सिँचाइको समस्या थियो । पुल र नहरको उद्घाटनपछि त्यस क्षेत्रका किसान तथा सर्वसाधारण खुसी भएका छन् । 

सुनसरी–मोरङ सिँचाई आयोजनाका निर्देशक भिलानन्द यादवका अनुसार १५३ मिटर लम्बाइको पुलमा ६ वटा स्पान रहेको छ । १६ मिटर गहिराइबाट उठाइएको र १ डायमिटरमा रहेको पुल हाइवे स्टेण्डरमा बनाइएको हो ।

पुल र नहर निर्माणको लागि कूल लागत अनुमान ४७ करोड ३२ लाख थियो । यसमा निर्माण व्यवसायी आशिष स्वामीनारायण आर्शिवाद जेभीसँग २०७६ सालमा भएको थियो । पुल निर्माण सम्पन्न गर्नुपर्ने समय २०८० को भदौ मसान्तसम्म भए पनि समयअगावै सम्पन्न भएको निर्देशक यादवले बताए । 

सम्झौता अवधिअगावै लोहन्द्रा साइफन र पुल निर्माण गरेकोमा आयोजनाको तर्फबाट निर्माण व्यवसायी सन्तोषकुमार बस्नेतलाई मन्त्री मोदीले सम्मानसमेत गरे । 

सुनसरी–मोरङ सिँचाई आयोजनाले ६८ हजार हेक्टर ९करिब १ लाख विगाहा० क्षेत्रफलमा खेती गर्न सिँचाई सुविधा पुर्याउँदै आएको छ । ५० वर्षभन्दा अगाडि योजना निर्माण सम्पन्न भइसकेको जनाउँदै निर्देशक यादवले यस्ता पुराना संरचना धेरै जीर्ण भइसकेको बताए । 

धेरैजसो संरचना इँटाले बनाइएको कारण यसको पुनःनिर्माण गर्नुपर्ने अवस्था देखिएको उनले जनाए । 

यस सिँचाई आयोजनाको इन्टेकबाट प्रतिसेकेण्ड ६० क्यूसेक क्षमतामा पानी आउँछ । अहिले ५० देखि ५५ क्यूसेकसम्म चलाइरहेको बताउँदै निर्देशक यादवले हिउँदमा ३५ देखि ४० क्यूसेकसम्म चलेको बताए । 

यद्यपि हिउँदमा पूर्ण क्षमतामा चलाउन कोशीमा पानीको स्रोत नै कम भइरहेकोले सफल हुन नसकेको उनले बताए । सुनसरी–मोरङ सिँचाई आयोजना कोशी सम्झौताअन्तर्गत सन् १९५४ सालबाट निर्माणको काम अगाडि बढेको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal