(Saturday , 11 May,2024)

विराटनगरकी सुष्माको रहस्यमय मृत्यु, हत्या भएको माइती पक्षको आरोप

author

Anonymous

Image 1

विराटनगर  । विराटनगर – १२ गराहा टोलकी २१ बर्सिया सुष्मा रायको रहस्यमय मृत्यु भएको छ । रायको आज बिहान २ बजे  मृत अवस्थामा शव फेला परेको छ । 

माइती पक्षले श्रीमान् २३ बर्सिया सुरज शर्माले कुटपिट गरेर हत्या गरेको आरोप लगाएका छन् । सुरजले भने सुष्माले झुन्डिएर आत्महत्या गरेको बताएका छन् ।

सुष्मा र सुरजको चार वर्ष अगाडी प्रेम विवाह भएको हो । सुष्माको माइती घर विराटनगर १२ सैनिक  टोलमा रहेको छ । उनीहरूको ३ वर्षको छोरी र ६ महिनाको छोरा रहेका छन् । शनिवार दिउँसोदेखि सुष्मा र सुरजको झगडा भएको थियो । झगडा भएपछि सुष्माको हात पनि कचियाले काटिएको थियो । 

झगडा भएपछि उनी माइती घर सैनिक टोल पनि पुगेको काका सन्तोष रायले बताए । ‘हामीले सम्झाइ बुझाइ गरेपछि भतिजी सुष्मा घर गएकी थिइन् । आइतबार बिहान २ बजे सुष्माले आत्महत्या गरेको भनेर खबर आयो । त्यसपछि हामी घरमा आइपुग्दा सुष्माको शव खाटमा राखिएको थियो,’ काका सन्तोषले भने, ‘झुन्डिएको भनिएको भतिजीलाई डोरी खोलेर श्रीमानले हस्पिटल पनि लगेको छैन । यदि आत्महत्या नै गरेको थियो भने पनि डोरी खोलेपछि हस्पिटल लानुपर्ने थियो । किन लगिएन रु ।’

झुन्डिएको ठाउँमा खाट रहेको छ । ‘खाट रहेको ठाउँदेखि माथि बास रहेको छ,’ उनले भने, ‘झुन्डिए पनि खुट्टाले खाट भेटिन्छ ।’ सुष्माको आत्महत्या नभएर योजनाबद्ध तरिकाले हत्या भएको माइती पक्षको आरोप छ । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही हुनुपर्ने उनीहरूको माग रहेको छ । 

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङका मुद्दा शाखाका प्रहरी निरीक्षक र वडा प्रहरी कार्यालय मोरङका डिएसपी विजय श्रेष्ठको नेतृत्वको टोली पुगेर घटना मुचुल्का उठाएर अनुसन्धान सुरु गरेको छ । 

घटनाको अनुसन्धान सुरु गरिएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए । ‘अहिले घटनाको अनुसन्धान सुरु भएको छ ,’ उनले भने, ‘पोस्टमार्टम रिपोटपछि थप विषय खुल्नेछ ।’

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal